कास्की, मंसिर ३ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सी सोमबार हुने ‘क्यालिब्रेसन’ अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज आज (शनिबार) पोखरा विमानस्थलमा पुगेको छ ।
विमान पोखरा आइपुगेको र पर्सी (सोमबार) दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिएका छन् । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।
क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको प्रमुख मुनकर्मीले बताए । क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् । क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।