यातायात समितिका रोक्का गरिएको खाता पनि खोलिने

| 2018 Sep 24 | 10:55 am 1973

काठमाडौं, असोज ८:  सिन्डिकेट अन्त्य गर्न रोक्का राखिएको यातायात समितिको बैंक खाता खोलिने भएको छ। सिन्डिकेट लगाउने यातायात व्यवसायीको बैंक खाता रोक्का गरेको सरकरले मंगलबारसम्म बैंक खाता फुकुवा गर्ने तयारी गरेको छ।

दशैंको मुखमा आएर यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्नु अघि खाता रोक्का फुकुवा गर्नुपर्ने माग राखेपछि अन्तत: सरकार आफ्नो निर्णयबाट पछि हट्दै बैंक खाता फुकुवा गर्ने भएको हो। स्रोतका अनुसार आइतबार यातायात मन्त्रालयमा बसेको बैठकले रोक्का राखिएको सबै यातायात व्यवसायीको बैंक खाता खोल्ने निर्णय गरेको हो। आज बैंक खाता खुलाउने भनिएपनि सार्वजनिक विदा परेकोले मंगलबार मात्रै बैंक खाता खोलिने भएको छ।

बैंक खाता रोक्का हुँदा यातायात मजदुरले दुर्घटना हुँदासमेत उपचार नपाएको, बिमाको रकम चुक्ता गर्न नपाएको र अन्य कारोबार पनि स्थगित गर्नुपरेकोले ठुलो मार परेको यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सरोज सिटौलाले बताए। उनले भने, ‘हामीले सरकारसँग बैंक खाता खोल्नुपर्ने माग राखेका थियौं। यस विषयमा सरकार पनि सकारात्मक भएको छ।’

यसअघि ६ असोजमा सरकार र यातायात व्यवसायीबीच सार्वजनिक यातायातमा दश प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको थियो। चाडपर्वको समयमा यसरी भाडा वृद्धि गर्दा सर्वसाधारणलार्इ मर्का पर्ने भन्दै चौतर्फी आलोचना हुन थालेको छ।

सिन्डिकेट हटाउने भन्दै यातायात व्यवसायीसँग कठोर बनेको सरकार अन्तत: यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर सरकारलार्इ झुकाएका छन्। सरकारले सिन्डिकेट हटाएको भनिएपनि जनतालार्इ भने थप मार परेको छ। सार्वजनिक यातायातमा कोच्चिएर जानुपर्ने बाध्यता, चर्को भाडा असुल्ने र यतायात मजदुरको रुखो व्यवहार भने जनताले झेलि नै रहेका छन‍्।

यसअघि असोज ५ गते यातायात व्यवसायीले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका थिए। तर, एकाएक सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीहरुले कि त इन्धनको मूल्‍य घटाउनुपर्ने  नभए भाडा बढाउन पर्ने माग राखेका थिए। सरकारले इन्धनको मूल्य घटाउन नसकिने बताउँदै सार्वजनिक यातायातमा दश प्रतिशत भाडा बढाउने सहमत भएको थियो। अझै मंसिरमा पुन: वैज्ञानिक तवरले भाडा दर कायम गर्ने भन्दै जाँचबुझ गरी भाडादर कायम गर्न समितिसमेत गठन गरेको छ।

यसरी सिन्डिकेट हटाएको भन्दै जति चर्को स्वरमा कराएपनि सिन्डिकेट अन्त्य गर्ने निर्णयबाट सरकार घुमाउरो बाटो हुँदै ब्याक भएको छ।

यातायात व्यवसायीले बैंक खाता खुलाएमात्रै अग्रिम टिकट बुकिङ खोल्ने योजना बनाएका छन्। सम्भवत: मंगलबार बैंक खाता फुकुवा भएर बुधबारदेखिनै अग्रिम टिकट बुकिङ खुल्ने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.