काठमाडौं, असाेज ४ः सार्वजनिक यातायात तथा हवाई उडान नियमितरुपमा सञ्चालनमा आएसँगै नेपालको न्याय क्षेत्रको कार्य पनि अब सामान्यतिर फर्कन थालेको छ ।
सर्वोच्च अदालतलगायत उच्च तथा जिल्ला अदालतहरुले यही असोज २ गतेदेखि आफ्ना कार्यलाई ह्वात्तै बढाएका छन् ।
काठमाडौं उपत्यकामा गत भदौ २५ गतेबाट जोरबिजोर प्रणाली लागू भएको र सो प्रणाली यही असोज २ गतेबाट पूर्णरुपमा हटेका कारण हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुन चाहने उपत्यकाभित्रका सेवाग्राहीले भदौ २५ गतेबाट बाटाको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित अदालतमा गइसक्नुपर्ने सर्वोच्चको प्रशासनले स्पष्ट गरेको छ ।
यसै गरी उपत्यकाबाहिरका सेवाग्राहीहरु हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुनका लागि यही असोज २ गतेदेखि बाटाका म्यादबाहेक ३० दिनभित्र सम्बन्धित अदालतमा हाजिर हुनुपर्ने सर्वोच्चले उल्लेख गरेको छ ।
सर्वोच्चले जारी गरेको सूचनामा स्पष्ट गरेको छ । अन्तर जिल्ला सार्वजनिक यातायात साधन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाई उडानसमेत २०७७ साल असोज १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा भएको हुँदा उपत्यकाबाहिर र अन्तर जिल्लाका अदालतमा हदम्याद, म्याद तथा तारेखमा उपस्थित हुनुपर्ने अवस्थाका सेवाग्राहीले २०७७ असोज २ गतेदेखि बाटाको म्यादबाहेक ३० दिनभित्र उपस्थित हुनुपर्नेछ । नेपाल समाचारपत्रबाट