जनकपुर, माघ ७ : दाइजोको विषयलाई लिएर पटक पटक घरेलु हिंसामा परेकी एक महिलाले आफ्नी एक नावालक छोरीलाई विष खुवाएर आत्महत्या गरेको समाचार प्राप्त भएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार जनकपुर उपमहानगर–४ सरहन्चिया शान्तिनगरकी २५ बर्से सीमा शर्माले दुई बर्से शिशुलाई समेत विष खुवाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन् ।
प्रहरीका अनुसार शर्माले श्रीमान्, सासुससुरा र नन्दबाट थप दाइजो नपुगेको भनी यातना पाइरहेकी थिइन्। माइतबाट थप दाइजो नल्याएको भन्दै सीमालाई शारीरिक र मानसिक यातना दिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी थपलियाले बताए ।
प्रहरीका अनुसार निज शर्मालाई परिवारले आत्महत्या गर्न बाध्य पारेको अभियोगमा सीमाका ससुरा ६५ बर्से श्यामसुन्दर मिश्र, ६० बर्से सासु किरण मिश्रलाई पक्राउ गरिएको छ। उनका श्रीमान् समीर मिश्र भने फरार छन्।
यसैबीच मृतक आमाछोरीको शोकमा दीप प्रज्वलनसँगै दोषीलाई कडा कारबाहीको माग गर्दै जनकपुरमा महिला अधिकारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्।