यस कारण गरियो ज्ञवालीको भब्य बिदाई

रिपोर्ट नेपाल | 2023 Feb 09 | 06:35 pm 3157

बागलुङ, माघ २६ः तितो सत्य कुरामा भन्ने हो भने राज्य भनेको प्रहरी नै हो । हरेक गतिविधिमा उसको सकृयता अग्रभागमा हुन्छ । दर्जा अनुसारको काम कर्तव्य सबै ठाउँमा दिइएको हुन्छ ।

प्रहरी मात्रै राम्रो भइदियो भने सबै खाले विकृति र विसंगति समाप्त हुन्छन् । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ल्याएको प्रहरी मेरो साथी कार्यक्रमले प्रहरी समुदायलाई निकै नजिक बनाएको थियो ।

No description available.

प्रहरी र समुदायको एकताले नै अपराध कर्म गर्नेलाई कानुनको दायरामा ल्याउन सकिन्छ । प्रहरी शासक होइन सेवक हो । अवको प्रहरी मसलले होइन मस्तिष्कले चलाउने हो । यहि कुराको ज्ञान र क्षमता भएर होला १२ महिना बागलुङको सुरक्षा कमाण्डर भएका प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली जनताको नजरमा वाही वाही भए ।

जिल्लामा भएका सबै राजनीतिक र सामाजिक व्यक्तित्वको नजरमा वाहीवाहीमा परेका ज्ञवाली अपराध कर्म गर्ने र कानुनको पालना नगर्नेको नजरमा कसिंगर बनेका होलान ।

ज्ञवालीले यो एक वर्षको समयमा उल्लेख्य कार्य गरेर बिदाई भएका छन् । उनको कार्यकाल बागलङ जिल्लाका लागि रामराज्य बनेको भन्दा फरक पर्दैन । बागलुङ जिल्ला प्रहरी कार्यालय र युनिटहरुमा धेरै प्रहरी प्रमुख आए तर यहाँको इतिहासमा आफ्नो मातहत र सबै समुदायलाई मिलाएर लैजान सक्ने क्षमता भएको प्रमुखमा दयानिधि ज्ञवाली पहिलो बनेका छन् । त्यही कारणले होला उनको बिदाईमा धेरैको आँखा रसाए । ज्ञवालीको धैर्यता पूर्वक कुरा सुन्ने कारणले दर्जनौं अन्यायमा थिचिएकाले न्याय पाए ।

उनीबाट वास्तविक न्याय पाएकाहरुले ज्ञवालीको विदाईमा अभिभावक छुट्टीएको महसुस गरेर आँसु झारे । झण्डै दुई हजारको संख्यामा उपस्थित जनसमुदायले ज्ञवालीको बिदाई गरे । उनको बिदाईमा कुनै ठूला दलको आमसभाको झल्को दिएको थियो । उनलाई जिल्लामा रहेका दश पालिका, बागलुङ कालिका भगवती गुठी, नेपाल पत्रकार महासंघ, ६ वटा यातायात समिति, उद्योग बाणिज्य संघ, आमा समुह, सामुदायिक गरी दर्जनौं संघ संस्थाले सामुहिक बिदाई गरेका थिए ।

No description available.

बागलुङ कालिका गुठी र यातायात समिति दुबैले ५१ हजार १ सय ५१ नगद सहित बिदाई गरेका थिए । जिल्ला सुरक्षा र कर्मचारी मिलन केन्द्रले भने छुट्टै बिदाई गरेका थिए ।

आखिर ज्ञवालीलाई यस्तो तामझामका साथ किन बिदाई गरे त भन्ने प्रश्न पनि उठ्न सक्छ । उठ्नु स्वभाविक पनि हो । बागलुङ जिल्लामा प्रहरीका प्रमुख यस्ता पनि आएकी कसैको व्यक्तिगत जिवनसँग चासो राख्दै होटलका कोठा चोटा चाहारेर उनीहरुको सुनका गरगहना लिएर छाड्ने पनि आएका हुन् । तर दयानिधिको उपस्थितिले जिल्लाको विकृति र विसंगति मात्रै अन्त्य भएन जघन्य अपराध गरेका अपराधिलाई तीन दिन भित्र पहिचान गरेर प्रहरीको उपस्थिति छ भने कुराको प्रमाणित गराइदिए ।

आफ्नो श्रीमती र नाता साली पर्नेको नियोजित षडयन्त्र सहित हत्या गरिएका तुलबहादुर बि.क.को अनुसन्धान कम जोखिमपूर्ण थिएन । निसिखोला गाउँपालिका वडा नं. ५ स्थायी घर भएका विकको २२ वर्षिया श्रीमती कुमारी कामी र १८ वर्षिया साली मनिषा बिकले मंचन गरेको नाटक उल्लेख्य छ ।

नियोजित तरिकाले टाउको छिनाएर घाँटी तल मात्र रहेको लासको अनुसन्धान गर्न निकै कठिन थियो । निसिखोला किनारमा टाउको नै नभएको लास फेला पारेर तीन दिन भित्र अभियुक्तलाई पक्राउ गर्नु कम चुनौतीपूर्ण थिएन । आफ्नै श्रीमानको हत्या गरेर बेपत्ता भएको अफवाह फैलाएर टाउको बिनाको लास भेटिइसके पछि श्रीमती माथी कसरी शंका गर्नु ? यति मात्रै होइन ज्ञवालीको कार्यकालमा स्वच्छ पारदर्शी एवं भयरहित जिल्ला बनाउन विशेष अप्रेशन चलाएका थिए ।

उनको उपस्थितिले अपराधकर्म गर्नेहरु त्राहीमाम भएका थिए । ठूलो मात्रामा लागूऔषध मात्र समाएनन् कि झण्डै १ करोड मुल्य बराबरको २ सय ५० किलो सुनखरी समेत नियन्त्रणमा लिन ज्ञवाली सफल भए ।

ज्ञवालीले १२ महिनाको अवधिमा गरेको कृयाकलाप जति लेख्दा पनि कमी हुन्छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै अप्रिय घटना बिना सफल बनाए । कुनै घटना बिना निर्वाचन सम्पन्न भएको यो पहिलो पटक हो ।

त्यो वातावरण कुनै दैवी शक्तिले नभएर उपरीक्षक दयानिधि ज्ञवालीको सुरक्षा व्यवस्थापनले संभव भएको हो । कर्मको फल मिठो हुन्छ भन्ने कुरा बुझेर खटेका ज्ञवालीलाई प्रदेश प्रहरी प्रमुखले उच्च मूल्याङ्कन गरेर तीन तीन वटा पुरस्कार दिएका हुन् । बागलुङबाट बिदा भएर काठमाडौं रानीपोखरी पुगेका ज्ञवालीले छिट्टै बागलुङ बासीलाई झै अन्य जिल्लाबासीलाई सेवा प्रदान गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.