बाँके, चैत ७ः जिल्लाको प्रशासनीक निकायको कमाण्डर मानिने प्रमुख जिल्ला अधिकारी देशभक्त, जनप्रेमी र विकास पक्षीय हुने हो भने जिल्लाका कर्मचारीले कसरी काम गर्ने रहेछन् भन्ने उदाहरण हेर्न बाँके जिल्ला गए हुन्छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार ६ महिना अघि जिल्ला प्रशासन कार्यालय बाँकेको जिम्मेवारी लिएका सूर्यबहादुर खत्रीले चमत्कारी किसिमले कर्मचारीलाई परिचालन गरेका छन् ।
राम्रो गर्नेलाई पुरस्कृत र खराब गर्नेलाई निस्वार्थ तरिकाले दण्डीत गर्ने हो भने जिल्लामा कसरी काम हुँदो रहेछ भन्ने पाठ सिक्न अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि आवश्यक छ ।
देशभरका जनताको जिब्रोमा झुण्डीने सेवा प्रवाहमा कर्मचारीको अटेरीपन र ढिला सुस्तिपन कुरालाई मध्ये नजर गर्दै प्रजिअ खत्रीले सरकारी कार्यालयबाट भईरहेका कामको अभिलेख राख्ने थालनी गरेपछि बाँकेका राजनीतिक दलका नेता र सर्वसाधारणले प्रजिअ खत्रीको खुलेर प्रशंसा गर्न थालेका छन् ।
प्रजिअ खत्रीले कामको मुल्याङ्कन गर्न कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख सदस्य रहने गरी मूल्याङ्कन समिति समेत गठन गरेका छन् । जिल्लामा १ सय ११ कार्यालय मध्ये दुई दर्जन भन्दा बढी कार्यालय विकाससँग सम्बन्धित छन् ।
विकास निर्माणसँग सम्बन्धित कार्यालयले रकम खर्च गर्न नसकेको देखेपछि प्रजिअ खत्रीले अभिलेखिकरण गरी सर्वोत्कृष्ट कार्य गर्नेलाई पुरस्कारको व्यवस्था गरेपछि अहिले बाँकेको विकासे कार्यालयका प्रमुखहरु कामका लागि प्रतिष्पर्धा गर्न थालेका छन् ।
कसले कुन विकास कार्यमा कति रकम खर्च गरे त्यसले कस्तो परिणाम दियो जनता कति लाभान्वित भए यि सबै कुरा मुल्याङ्कन समितिले सुक्ष्म किसिमले गरेपछि हरेक महिना उत्कृष्ट हुने कार्यालय र कर्मचारीलाई पुरस्कृत गर्ने गरिएको समितिका सदस्य कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । समितिले विकास सम्बन्धि कार्यालयको वित्तिय प्रगति पनि हेर्ने गरेको अधिकारीको भनाई रहेको छ ।
संघीय सरकारले जिल्लाका विकासे कार्यालयलाई उपलब्ध गराएको पुँजीगत बजेट ७ अर्ब ६६ करोड ८० लाख छ तर फागुनसम्म जम्मा २९ दशमलव ३ प्रतिशत खर्च भएको पनि अधिकारीले बताए ।
स्मरण रहोस् प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री जुन जुन जिल्लामा जान्छन् त्यो जिल्लाका जनताको नजरमा वाही वाही हुन्छन् भने खराब गर्नेका नजरमा कसिङ्गर बन्ने गरेका छन् ।
खत्री ओखलढुङ्गा जिल्लाको प्रमुख हुँदा जनतालाई बिहान ८ बजे देखि साँझ ६ बजे सम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाएका थिए भने, संविधानसभाको निर्वाचन निर्विवाद बनाउन सफल भएका थिए ।
महोत्तरीका जनतले त उनले दिएको सेवा र जनहितको कार्यको प्रशंसा गर्दै शालिक निर्माण गर्ने भनेका थिए तर खत्रीले त्यो कुरालाई अस्वीकार गरेका थिए । महोत्तरीमा वर्षौ सार्न नसकिएको नापीलाई बर्दिबास सारेर त्यस भेगका जनतालाई सेवा प्रवाह गराएका थिए । त्यस्तै सिमा क्षेत्रमा हुने गरेको भारु सटहीको तस्करीलाई रोक्न आफ्नै पहलमा प्रभु बैंकसँग समन्वय गरी सटही काउण्टर समेत राखिदिएका थिए ।