यस्तो छ महेन्द्र यादवलाई आक्रमण गर्ने ‘राजावादी’ भनिएका सापकोटाको विगत

| 2023 Sep 07 | 12:33 pm 2357

काठमाडाैं, भदाै २१ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार सांघातिक आक्रमण भयो। काठमाडौं भृकुटीमण्डपमा रहेको रिपोर्ट्स क्लबको साक्षात्कार कार्यक्रममा सम्बोधन गरेर बाहिर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो। यो घटनामा संलग्न व्यक्ति आफूलाई राजावादी अभियन्ता भन्दै आएको पाइएको प्रहरीले जनाएको छ।

नुवाकोटको विदुर नगरपालिका घर भई बालाजु बस्ने ४७ वर्षीय श्यामबहादुर सापकोटा नामका व्यक्तिले यादवमाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारलगत्तै उपस्थित व्यक्तिहरूको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार उनी पटके हुन्। अर्थात् यसअघि पनि उनी १५-१६ पटक प्रकाउ परिसकेका छन्। प्रहरीले उनको स्वभाव पहिले देखी नै मानसिक हिसाबले केहि कमजोर रहेको समेत बताएको छ। यसअघि पनि उनले ठुला नेता तथा उच्च पदमा रहेका व्यक्तिहरुलाई टार्गेट गरेर यस्तै आक्रमण तथा विरोधका कार्यक्रम गर्ने गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताए।

यस्तो छ उनको विगतः

२०७८ कार्तिक ७ गते उनले बैदेशिक रोजगार विभागका महानिर्देशक भोज राज पन्तलाई कालोमसो दले। सो अभियोगमा उनलाइ बानेश्वर प्रहरी वृतले अभद्र व्यवहार सम्बन्धी मुद्धा चलाई १० हजार धरौटीमा रिहा भएका थिए।

सोही वर्ष माघमा पनि प्रहरी वृत लैनचौरबाट अर्को अभद्र व्यवहार सम्बन्धि मुद्धा चलेको पाइएको छ। प्रहरीका अनुसार उनी यसअघि पटक-पटक विभिन्न मुद्धामा समातिएका छन्। प्रहरीसँग भएको रेकर्ड अनुसार उनी विगतमा १५-१६ पटक पक्राउ परेका छन्।

बुधबार यादवमाथी आक्रमण गरेपछि पक्राउ परेका सापकोटा राजसंस्था पुनः स्थापना गर्नको लागि राजावादी संगठनहरुमा आवद्ध रहेको पाइएको छ। उनी हाल पनि राजावादी समुहसंग जोडिएर काम गरिरहेका छन्। निजले आफुलाई राजावादी र हिन्दु राष्ट्र समर्थक बताउने गरेका छन्।

उनले कांग्रेस, एमाले, माओवादी, मधेशी दल, रास्वपा जुनसुकै राजनीतिक दलका व्यक्ति भए पनि खुकुरी प्रहार गर्ने योजना रहेको प्रहरीसँग बताएका छन्।

सुन तस्करी, ललिता निवास प्रकरण, भ्रष्टाचार, नेपालको नक्सा, एमसीसी लगायतका विषयहरुमा राजनीतिक दलहरुको कार्यप्रति असन्तुष्टी रहेका सापकोटाले डेढ बर्ष अगाडी खुकुरी किनि पटक-पटक प्रहार गर्न प्रयास गरेको प्रहरीसँगको बयानमा भनेका छन्।

उनको राजनीतिक पृष्ठभुमीः

करिब ३ बर्ष अगाडी राप्रपा नेपालको सहायक महामन्त्री भई काम गरेको बताएका छन्। संयुक्त जनआन्दोलन मोर्चाको मजदुर संगठन विभाग प्रमुख रहि कार्य पाइएको छ। हाल राजावादी राजनीतिक दल, राजावादी संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन्।

सन् २०१४ तिर उनी वैदेशिक रोजगारिको सिलसिलामा दुबई गएका थिए। तर दुबईको कम्पनीले काम गरेको पैसा दिएन। यसको लागि उनले  पटक(पटक सरकारी अड्डाहरुमा निवेदन समेत दिएका थिए तर त्यसको  कार्यान्वयन भएन।

सरकारी निकायहरुप्रतिको असन्तुष्टी, सुन तस्करी प्रकरण, भ्रष्टाचार, ललितनिवास, एसमीसी, नेपाली नक्सा लगायतका विषयमा राजनीतिक दलहरुको कार्यप्रति असन्तुष्टि रहेकै कारण उनले राजनितिक दलका नेताहरुमाथी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ। यसअघि उनको समूहले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालमाथि अभद्र व्यवहार गरेको थियो। गत जेठ १७ गते अनामनगरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल, पूर्व उपप्रधानमन्त्री वामदेव गौतम, माओवादी नेता सिपी गजुरेल भएको कार्यक्रममा सन्तोष ‘राजावादी’सहित नौ जनाको समूहले खनालमाथि अभद्र व्यवहार गरेको थियो। कार्यक्रम बिथोल्ने गरी उक्त समूहले हुलहुज्जत, होहल्ला र माइक कब्जा गरेर राजतन्त्रका पक्षमा चर्को अभिव्यक्ति दिएका थिए। पछि प्रहरीले पक्रेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। केही समय थुनामा राखेर उनीहरूलाई पछि छाडिएको थियो। – नागरीक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.