-
महेन्द्र पाण्डेय
राज्यका महत्वपूर्ण अंग तथा निकायहरुको साख गिर्दै जाँदा अब नेपाली सेनाको साख गिर्ने पालो कहिले आउला ? भन्ने प्रतिक्षामा मुलुक थियो । सरकार चलाउने राजनीतिकदलहरुको साख गिर्यो । राजनीतिकदलहरुको साख गिरेको मौका पारेर शासन सत्ता हातमा लिएका ज्ञानेन्द्र शाहले आफ्नो समेत साख गिराउँदै २ सय ४० वर्षको पैतृक विरासत समाप्त पारे । मुलुकमा गणतन्त्र आयो । दलहरुको साख गिरे पनि अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाली सेनाको साख रुहुन्जेल मुलुक माथि केही तल बित्तल पर्दैन भन्ने कुरामा जनता आशाबादी थिए । तर अदालतले पनि आफ्नो साख जोगाउन सकेन ।
प्रधानन्यायाधीशहरु नै एक पछि अर्को काण्डमा मुछिए । भ्रष्टाचार नियन्त्रणका लागि भनेर संवैधानिक रुपमा खडा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरु आफैँ भ्रष्टाचारको रछ्यानमा चुर्लुम्म डुवे । अब बाँकी रह्यो नेपाली सेना । तर भौतिक पूर्वाधार निर्माण मन्त्रालयले खर्च गर्ने भन्दा कयौं गुणा बढी बजेटका विकास आयोजनाहरु नेपाली सेनाले हात पार्दै गयो ।
विगतको साखका आधारमा सरकारले नेपाली सेनालाई यी विकास आयोजनाहरुको जिम्मा दिएको हो तर पछिल्ला दिनमा सेनाको पनि टिकाटिप्पणी सुरु भए । अब साख गिर्ने पालो सेनाकै हो भन्ने विश्लेषण चौतफी हुन थाल्यो । यही विश्लेषणका वीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार आफ्नो संपत्ति विवरण पेश गरेका छन् ।
उनको यो कदमले अब नेपाली सेनाका अरु अधिकृतहरुलाई पनि सम्पत्ति विवरण पेश गर्न दबाव पर्ने निश्चित छ । सबैले संपत्ति विवरण पेश गरे भने नेपाली सेनाको साख अवश्य पनि जोगिने छ । सेनाको साख जोगिए सम्म मुलुकको शान्ति सुरक्षा तथा सार्वभौमिकता कतैबाट पनि आँच आउने अवस्था रहन्न । प्रधान सेनापति महारथी थापाले चालेको अहिलेको कदम ऐतिहासिक हो ।
थापाले आफूसहित श्रीमती र छोरीहरुको नाममा रहेको रकम, जग्गा र सुन, चाँदी, शेयर लगायत सम्पत्तिको विवरण सार्वजनिक गरेका हुन् । सेनाभित्र अनियमितता भएको आरोप लाग्ने गरेकाले त्यसलाई सुधार गर्न आफूले सम्पत्ति सार्वजनिक गरेको सेनापति थापाले बताएका छन् । उनले अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न सुझाव दिएका छन् । नेपाली सेनाको इतिहासमा सेनापतिले यसरी सम्पत्ति सार्वजनिक गरेको यो पहिलो पटक हो । थापाले भनेका छन्, ‘सेनाभित्र अनियमितता छ भन्ने आरोप लाग्छ । म यसलाई सुधार गर्छु । सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानविन हुन्छ ।’
थापाको सम्पत्ति विवरणमा उनको साथमा २४ लाख नगद र ५५ तोला सुन रहेको छ । यस्तै ५ सय ९० तोला चाँदी र १० लाख बराबरको हार रहेको देखिन्छ । यस्तै विभिन्न बैंकमा संकलित रकम जम्माजम्मी २४ लाख रहेको उल्लेख छ । काठमाडौंमा ५ रोपनी , लमजुङमा १२ रोपनी र नवलपरासीमा १२ आना जग्गा रहेको उनले जनाएका छन् । यसबाहेक श्रीमती र छोरीको नाममा शेयरमा ४३ लाख रहेको पनि प्रधान सेनापति थापाले आफ्नो संपत्ति विवरणमा उल्लेख गरेका छन् ।
प्रधान सेनापति थापाको यो कदम सँगै नेपाली सेनाभित्रका विकृतिहरु कम हुँदै जाने र सेनाको साख बढ्ने विश्वास सर्वसाधारणले गरेका छन् । नेपाली सेनाभित्रको सबै भन्दा दुर्दान्त पक्ष भनेको तल्लो तहकालाई सास्ती र माथिल्लो तहकालाई मस्ती हो । उदाहरणका लागि माथिल्लो तहका अधिकृतहरुको तलव सुविधा यसै पनि वढी हुन्छ तर उनीहरु आफ्नो कार्यकालमा ६ पटकसम्म शान्ति सेनामा जान्छन् , आफू मात्रै होइन आफ्ना ड्राइभरहरुलाई पनि यो मौका दिन्छन् । ड्राइभरको कोटा थोरै भएको हुनाले एउटै ड्राइभरले ४ पटक सम्म शान्ति सेनामा जाने अवशर प्राप्त गरेको दावी गरिन्छ । अवसर नपाएका सिपाही तथा हवल्दारहरुलाई १५ दिन ड्राइभिङ तालिम दिने तर्फ सोचेको देखिन्न ।
सिपाही तथा हवल्दारहरुको तलव भत्ताले परिवार धान्न संभव छैन । जसका कारण तल्लोतहमा असन्तुष्टि बढ्दो छ । पेन्सन पाके पछि एक महिना पनि उनीहरु सेवामा बस्दैनन् । बैदेशिक रोजगारीमा गइहाल्छन् । यसैगरी अधिकृत भर्नामा धाँधली हुने गरेको आरोप पनि लागेको छ । जर्नेल तथा कर्नेलहरुका आफन्तले बढी आवसर पाउने गरेका छन् । किन यस्तो भयो ? प्रधानसेनापति थापाले अवश्य पनि ध्यान दिनेछन् ।
२०७२ सालको भूकम्पले ध्वस्त बनाएका भौतिक संरचना हेर्ने हो भने केही अपवादलाई छाडेर नेपाली सेनाले बनाएका संरचना बढी ध्वस्त भएका छन् । नेपाली सेनाले निर्माण गरेका भौतिक संरचना कमजोरहुनु भनेको नेपाली सेनाको साख गिर्नु हो । किन यस्तो भयो ? प्रधानसेनापति थापाले अवश्य पनि ध्यान दिनेछन् ।
सुगौली सन्धी पछि नेपाली सेना खासै लडाँइमा होमिनु परेन । भीमसेन थापाले सेनाको आन्तरिक संरचना बलियो बनाए , बैज्ञानिक बनाए , तर राणा शासनको प्रारम्भ पछि निकै लामो कालखण्ड सम्म नेपाली सेना परिवारिक विर्ता जस्तो बन्यो । राणा परिवारका सदस्यहरुले जन्मना साथ जर्नेलको दर्जा पाउन थाले । मेजर तहदेखि माथि सर्वसाधारणको पहुँच रहेन । जसका कारण मेजर तहदेखि माथि बोल्ने भाषा नै अलग भयो ।
मेजर तहदेखी माथिका अधिकृतका श्रीमतीहरुलाई रानी साहेव भन्न थालियो । राणाकी श्रीमतीलाई रानी साहेव भन्ने चलन थियो, मेजरदेखि माथि राणाहरु नै हन्थे । ‘बक्स्योस’ भन्ने भाषा राणा तथा शाही परिवारमा बोलिन्थ्यो । २००७ सालको परिवर्तन पछि राणा र शाह खलक बाहेक पनि सर्वसाधारणका छोरा प्रशस्त मात्रामा मेजर तह भन्दा माथि पुग्न थाले तर भाषा र शैली भने परिवर्तन भएन ।
‘रानी साहेव’ र ‘बक्स्योस’ ले निरन्तरता पाइरह्यो । अहिले सम्म पनि यसले निरन्तरता पाइरहेको गुनासो सेनाका जवानहरुले गरिरहेका छन् । ‘रानी साहेब’को पेण्टि तथा पेटिकोट धुन अहिले पनि सेनाका कतिपय जवान वाध्य रहेको गुनासो सुनिन्छ । अर्दली राख्ने परम्परा अहिले पनि छ । बहालवालाले मात्रै होइन रिटायर्ड भएकाहरुले जनि दर्जनको संख्यामा सेनाका जवानलाई अर्दलीका रुपमा राख्ने गरेको सामाचार आइरहेका छन् । किन यस्तो भयो ? प्रधानसेनापति थापाले अवश्य पनि ध्यान दिनेछन् ।
को हुन् ? पूर्णचन्द्र ?
वर्तमान प्रधानसेनापति महाराथी पूर्णचन्द्र थापा नेपाल एकीकरणका महानायक मध्येका एक वीर भक्ति थापाका सन्तती हुन् । इतिहासविद्हरुको विश्लेषण छ –‘ भक्ति थापाले नचाहेको भए अहिलेको नेपाल चेपे तथा मस्र्याङ्दी नदी भन्दा पूर्वमा मात्रै सिमित हुन पनि सक्थ्यो । ’ पृथ्वीनारायण शाहले लमजुङलाई गरुढ , गोर्खालाई सर्प र नेपाललाई भ्यागुदोको संज्ञा दिँँदै भनेका थिए–‘ गरुढबाट जोगिन सक्यो भने सर्पले सजिलै भ्यागुदो निल्न सक्छ ।’ नेपाल एकीकरणका बेला त्यही गरुढरुपी लमजुङ राज्यका प्रधानसेनापति थिए भक्ति थापा ।
भक्ति थापाले चतुर्याइँ पूर्वक लमजुङलाई नेपाल एकीकरणमा सामेल गराए । त्यस पछि लमजुङ भन्दा पश्चिमको एकीकरण उनकै कमाण्डिङमा अघि बढ्यो । अघि बढ्दै बढ्दै पञ्जावको करिव करिव नजिक मलाउँ भन्ने स्थानसम्म नेपाली सेना पुग्यो । भक्ति थापाले अब शक्ति सन्चय गरेर मात्रै अघि बढ्ने भन्दै मलाउँमा ठूलो किल्ला बनाए । त्यतिबेला उनी ७२ वर्षका थिए । अंग्रेजहरुले आधुनिक हतियारद्धारा आक्रमण गर्दा पनि उनले आत्मसमपर्ण गरेनन् , त्यहीँ वीर गति प्राप्त गरे । उनको शवलाई अंग्रेजहरुले दोसल्ला ओढाएर १ सय ८ तोपको सलामीका साथ अन्तेष्टि गरे । शत्रुहरुलाई समेत प्रभावित पार्न सक्ने योद्धा थिए भक्ति थापा ।
तत्कालिन लमजुङ राज्यका प्रधानसेनापति भक्ति थापाले नेपालको प्रधानसेनापति हुने अवसर प्राप्त गरेनन् । उनका छोरा , नाती , पनातीहरुले नेपाली सेनाको सेवालाई निरन्तरता दिँदै आए । वर्तमान प्रधानसेनापति थापा उनका छैठौं पुस्ताका सन्तती हुन् । एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएर लडाँइमै वीर गति प्राप्त गरेका कारण तत्कालिन सरकारले लमजुङ , कास्की , काठमाडौं उपत्यकामा उनका सन्ततीहरुलाई थुप्रै रकम विर्ताका रुपमा दिएको थियो ।
आर्थिक रुपमा निकै सम्पन्न मानिन्छन् भक्ति थापाको सन्ततीहरु । तर वर्तमान प्रधानसेनापति थापाले गत मंगलबार सार्वजनिक गरेको सम्पत्ति हेर्दा सामान्य देखियो । जबकी करिव ४ दशक सम्म नेपाली सेनाको माथिल्लो दर्जामा रहेर काम गरेका प्रधानसेनापति थापा नेपाली सेनाका अरु पूर्व जर्नेलहरु जस्तै एलिट होलान भन्ने अनुमान धेरैले गरेका थिए । तर आफ्ना पूर्खा भक्ति थापाको रगतलाई प्रदुषित गर्न उनले चाहेनन् ।