यसै महिना रानीमहलमा बीच भलिबल हुने

रिपोर्ट नेपाल | 2023 Apr 21 | 02:59 pm 1329

काठमाडौं, वैशाख ८ः राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब तथा आयोजक गरी ११ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको स्वीकृति रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिए ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपियाँ पाउनेछन् ।

प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई खाने, बस्ने र यातायात खर्चको व्यवस्था आयोजकले गर्नेछ । प्रतिगोयतामा सहभागी खेलाडीको बिमा समेत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नेपाल सरकारबाट १५ लाख रुपियाँ बजेट विनियोजन भएको पनि आयोजकले जनाएको छ ।

बीच भलिबल खेलको विकाससँगै पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो । फाउन्डेसनले गत वर्ष महिला बीच भलिबल आयोजना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.