इटहरी, भदाै १४ । विगत केही दिन देखि मुलुकका विभिन्न ठाँउमा आत्महत्या र हत्या गर्नेहरुको संख्यामा दिन प्रतिदिन वृद्धि भईरहेको छ । यसै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका २ हलगडास्थित वसन्त टोलकी ४४ वर्षीय यशोदा श्रेष्ठको गएराति धरानमा विभत्स हत्या भएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा धरान–१७ साउने बस्तीका टेकबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार आर्थिक लेनदेनका विषयमा भएको विवादपछि आरोपित दर्जीले श्रेष्ठको हत्या गरेको खुलेको छ ।
हत्या गरिसकेपछि शव व्यवस्थापनको योजना बनाइरहेका दर्जीलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो । शवलाई डोकोमा पोको पारेर अभियुक्तले कतै लगेर फाल्ने योजनामा रहेको प्रहरीको भनाइ रहेको छ । मृतक महिलाको टाउकोको अगाडिको आँखा छेऊको भाग र पछाडिपट्टिको भागमा गहिरो चोट देखिएको तर घटनामा प्रयोग भएका कुनै पनि हतियार भने बरामद नभएको प्रहरी बताउँछ ।
सवारीचालक रहेका आरोपित दर्जी रामेछापका स्थायी बासिन्दा भई धरानमा ससुरालीमै श्रीमतीले बनाएको घरमा बस्दै आएको खुल्न आएको छ ।