यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

एजेन्सी | 2018 Aug 15 | 12:53 pm 1825

यमन, साउन ३०: यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ।

मृतकमध्ये ४० जना बालबालिका रहेका अन्तर्राष्ट्रिय रेडक्रस समितिले मङ्गलबार जनाएको छ। उक्त हवाई आक्रमणमा ७९ जना घाइते भएका थिए।

यमनमा हुथी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको गठबन्धनले यहाँको सरकारलाई सघाउँदै आएको छ। अमेरिका तथा केही पश्चिमा देशहरूका सरकारले पनि हुथी समूहविरुद्धको कारबाहीमा हतियार तथा युद्धक विमानसहयोग दिई यमनी राष्ट्रपति अवेद्रब्वो मन्सुर हाडीको सरकारलाई सघाउँदै आएका छन्।

यमनमा पटकपटकका आक्रमणमा निर्दोष नागरिक तथा बालबालिकाको मृत्यु भएपछि अमेरिका तथा यूरोपका कतिपय मुलुकले गठबन्धनलाई सम्वेदनशील भएर हुथी विद्रोही विरुद्धको कारबाहीमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

संयुक्त राष्ट्रसङघले बालबालिकामाथि लक्षित गरी भएको आक्रमणको आलोचना गरेको छ भने साउदी नेतृत्वको गठबन्धनले घटनाबारे छानविन गर्ने जनाएको छ। घटनापछि यमनमा अमेरिका र साउदी अरबको विरोध गर्दै हजारौँको सङ्ख्यामा प्रदर्शनहरू भएका बताइएको छ।

यमनमा हुथी विद्रोहीले यमनी सरकार विरुद्धको आन्दोलनलाई राजधानी सानातर्फ लक्षित गरेपछि साउदी गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरेको थियो । द्वन्द्वमा परी १० हजारभन्दा बढी यमनी नागरिकको मृत्यु भएको राष्ट्रसङ्को तथ्याङ्क छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.