यतीका पाँच जेटस्ट्रिम विमान गुणलाई हस्तान्तरण

रिपोर्ट नेपाल | 2021 Jul 09 | 08:16 am 2521

काठमाडाैं, असार २५ः गुण एयरलाइन्सले आगामी असोजबाट उडान गर्ने भएको छ । बिहीबार यती समूहले जेटस्ट्रिम सिरिजका विमान हस्तान्तरण गरेसँगै गुणले ७ वटा विमानका साथ आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भएको हो ।

यती समूहमा रहेका पाँचवटा जेटस्ट्रिम सिरिजका विमान गुण एयरलाइन्सको नाममा हस्तान्तरण भएको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए । उडान अनुमति, आन्तरिक तयारी र विमानको प्राविधिक जाँचको सबै प्रक्रिया पूरा भएपछि असोजबाट नियमित उडान थाल्ने उनले बताए ।

बिहीबार यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण गरेका थिए । गुण एयरलाइन्सले हाल २ वटा अमेरिकी बीचक्राफ्ट जहाजबाट पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गरिरहेको छ।

गुण एयरलाइन्सले यतीका विमान यसअघि नै खरिद गरेको भए पनि औपचारिक हस्तान्तरण बिहीबार भएको हो । असोजदेखि सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज, तुम्लिङटारलगायतका विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

गुण समूहका अध्यक्ष शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई विमान थप गरेर अन्य गन्तव्यमा उडान गर्न लागेको बताए । प्राधिकरणबाट एओसी पाएसँगै कम्पनीसँग हाल भएका दुई बीचक्राफ्ट सहित सातवटा विमान हुनेछन् ।

गुण समूहले दुई वर्षभित्र नौवटा विमानमार्फत सेवा दिने योजना बनाएको छ । साथै आगामी दिनमा दुईवटा ट्विनअटर सिरिजका विमान थप गरेर ग्रामीण क्षेत्रमा उडान भर्ने अध्यक्ष शाक्यको भनाइ छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.