म्याद नाघेका सामग्री नष्ट

रिपोर्ट नेपाल | 2022 Mar 05 | 07:33 am 1929

हुम्ला, फागुन २१ः हुम्ला सदरमुकाम सिमकोट बजारमा म्याद नाघेका उपभोग्य सामग्री फेला परेका छन् । बजार अनुगमन गर्ने क्रममा दैनिक उपभोग्य सामान र पेय पदार्थ म्याद नाघेको पाइएको हो । अनुगमन टोलीले फेला पारेका म्याद गुज्रेका सामान सम्बन्धित व्यापारीकै हातबाट नष्ट गरिएको छ । उपभोगका लागि म्याद गुज्रेका सामानमा पेय पदार्थ, चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउलगायतका दुई दर्जन सामग्री छन् ।

पहिलो पटकका लागि सामान नष्ट गरिएको र आगामी दिनमा दोहोरिए कानुनी कारबाहीसमेत गरिने चेतावनी दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले बताए । खाद्य निरीक्षक पोखरेलले नमुनाका रूपमा पसल तथा होटलमा गरिएको अनुगमनका क्रममा सबैमा म्याद गुज्रेका सामान बिक्री वितरण गरिएको पाइएको बताए । नमुनाका रूपमा चारवटा होटल र ११ वटा पसलमा टोलीले अनुगमन गरेको थियो । उनले उपभोक्तामा जनचेतनाको कमी भएका कारण सामान खरिद गर्दा प्रयोग गर्ने समय नहेरेका कारण व्यापारीले आफूखुसी बिक्री गरिरहेको बताए ।

व्यापारीले नेपालगञ्ज र सुर्खेतमा खरिद गरेर हवाई मार्गबाट ढुवानी गर्न समय लाग्ने भएका कारण पनि सामानको म्याद नाघेको बताएका छन् । नेपालगञ्ज र सुर्खेत विमानस्थलको कार्गोमा ढुवानी भएर आउन महिनाैं दिन लाग्ने भएकाले व्यापारी समस्या परेको उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष छक्कबहादुर रोकायाले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, सिमकोट गाउँपालिका, नेपाल पत्रकार महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.