म्याद नाघेका कर्जाहरूको असोज मसान्तसम्मको साँवा तथा ब्याज बुझाएमा ८.९९ प्रतिशत कायम गरिने

| 2020 Sep 17 | 07:19 pm 2012

काठमाडौं, असोज १ः बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा विभिन्न किसिमको सहुलियत प्रदान गर्दै आइरहेको छ ।

ग्राहकहरुमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले २०७७ असोज मसान्तका लागि समेत पुनः आकर्षक सहुलियत योजना बैंकले ल्याएको छ । जस अनुरुप २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने भएको छ ।

यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विब प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सकिनेछ ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

उक्त योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस ब्याज सहुलियत योजना अनुसार चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असोज मसान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाइदा उठाउन सकिनेछ ।

बैंकले यसअघि समेत ग्राहक महानुभावहरूको बृहत्तर हितको रक्षा गर्नका निमित्त ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको छ । नेपाल राष्ट्र बैंकद्वारा २०७६ चैत १६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेका ऋणीहरूको कर्जाको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहक महानुभावहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट २०७७ बैशाख १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहक महानुभावहरूको खातामा जम्मा समेत बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा २०७७ आसार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता भुक्तान गर्नेे ग्राहक महानुभावहरूको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई १ साउन २०७७ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.