म्याग्दीका भिसी पुनका जन्मथलोमा सुनसान, बेलायतमा चर्चा

| 2021 Jul 16 | 01:29 pm 2537

म्याग्दी, साउन १ः दोस्रो विश्वयुद्धमा अद्वितीय युद्धकला प्रदर्शन गरेबापत बेलायती सरकारबाट भिक्टोरिया क्रस (भिसी) पदक विजेता गोरखा सैनिक स्व तुलबहादुर पुनको जन्मघर म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बादुक हो । उनले बेयायती सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धमा बर्माको लडाईंमा अकल्पनीय वीरता प्रदर्शन गरेका थिए ।

उनले बेलायत अधिनस्थ भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसँगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै लड्नु भएको बताइएको छ । सो युद्ध जितेकाले उनलाई भिसी क्रस पदक प्रदान गरिएको थियो ।

उक्त युद्धमा उनी एक्लैले जापानी सैनिकलाई परास्त गरी दुई हल्का मेशिनगनसहित धेरै हतियार कब्जा गरी अद्वितीय युद्धकला प्रदर्शन गरेको जनाउँदै बेलायती सरकारले भिसी पदक दिएको थियो ।

भिसी तुलबहादुरले पदक पाएको ७६ वर्ष पुगेका अवसरमा बेलायतमा असार दोस्रो साताबाट रेल सेवा शुरु भएको छ । बेलायतको एक रेल सेवाले त्यहाँको सर्वोच्च युद्ध पदक भिसी बिजेता स्व तुलबहादुर पुनको सम्मान गर्दै रेल सेवा शुरुआत गरेको उनका छोरा अर्जुनले जानकारी दिए । “बुबाको योगदानको उच्च सम्मान भएको महसुस गरेका छौँ, अब हामीले बुबा जन्मिएको थलोलाई चिनाउनका लागिसमेत थप काम गर्ने जमर्को गरेका छौँ”, अर्जुनले भने ।

तुलबहादुरले भिसी पाएको ७६ वर्ष पुगेका अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा सो सेवा शुरुआत गरिएको जनाइएको छ । बेलायतमा भिसीको चर्चा भइरहँदा उनको जन्मथलो बाँदुक गाउँ भने सुनसान छ । विश्वभर नै चर्चित व्यक्ति जन्मिएको ठाउँ बाँदुकलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहे पनि अहिलेसम्म त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । एक्काइस वर्ष उमेरमा नै भिसी पदक प्राप्त गर्न सफल पुनको जन्मथलोलाई ‘बहादुर’ को जन्मथलोका रुपमा अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

बादुक ‘बहादुर जन्मिएको गाउँ’

विश्वयुद्धमा सहासिक युद्धकला देखाएर विश्वभर चर्च बटुल्न सफल भएका दिवङ्गत तुलबहादुर पुनको जन्मथलो बादुक गाउँलाई ‘बहादुर जन्मिएको गाउँ’का रुपमा चिनाउने र प्रचारप्रसार गर्ने तयारी गरिएको छ । रघुगङ्गा–१ मा अवस्थित यस गाउँमा भिसी पुनको जन्म भएको र उनको हुर्काइबढाइ भएको घर अझै सुरक्षित छ । उनको जन्मघरलाई नै सङ्ग्रहालयका रुपमा विकास गर्ने गरी आवश्यक तयारी थालिएको तुलबहादुरका बुहारी शान्ति पुनले बताइन् ।

घरलाई नै सङ्ग्रहालयका रुपमा विकास गर्न उनले प्रयोग गरेका सामानलाई संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र वेषभुषालाई समेत सङ्ग्रहालयमा राख्ने गरी भिसीको सम्झनामा सङ्ग्रहालय बनाउने अवधारणा अघि सारिएको वडा सारिएको वडा सदस्य तिलककुमार तिलिजाले बताए ।

“उहाँका बारेमा विश्वभर चर्चा छ, बेलायतमा त उहाँको सम्मानमा धेरै कार्य भएका छन्, जन्मथलोलाई अहिलेसम्म चिनाउन सकिएको छैन, अब उहाँको बहादुरीले विश्वभर बटुलेको चर्चलाई जन्मथलोतिर तान्ने हाम्रो जमर्को छ”, उनले भने । उनको जन्मघरलाई सङ्ग्रहालय बनाउने र स्थानीय पुराना घरलाई मर्मतसम्भार गरी घरबास सञ्चालन गर्नेतर्फ स्थानीय उत्सुक भएर अभियानमा जुटेका छन् । घरबास सञ्चालन गर्ने र आगन्तुक पाहुनालाई स्थानीय मौलिक कलासंस्कृतिको मनोरञ्जन दिनका लागि स्थानीयले सांस्कृतिक समूह गठनको तयारीसमेत गरेका छन् ।

बेलायती सैनिकबाट अवकाश लिएपछि भिसी पुन जन्मथलो फर्किएर यहाँको भौतिक र सामाजिक विकासमा जुट्नुभएको थियो । त्यस समयमा पुनको अगुवाइमा गाउँमा खानेपानी, विद्यालय भवन, बाटो, खेलमैदानलगायतका विकास निर्माणका पूर्वाधार निर्माण भएका थिए । यहाँ आउने पर्यटकलाई पुनको अगुवाइमा बनेका विकास निर्माण पूर्वाधारको संरक्षण गरी यस ठाउँका ऐतिहासिक विकासका पूर्वाधारको अवलोकन गर्न सकिने थप आकर्षण हुनेछ ।

स्थानको अवलोकन भ्रमण गराउन र भिसीका जीवन्त र वास्तविक कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीपमूलक र भाषामूलक तालीम सञ्चालन गर्ने योजना बनाइएको छ । बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका आधारभूत विद्यालय (हाल मावि) को संस्थापकसमेत रहनुभएका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पुर्यनउनुभएकोे स्थानीयवासी पूर्णबहादुर गर्बुजाले बताए।

बेलायतको उच्च शैन्य सम्मान पाएका भिसी तुलबहादुरका नाममा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग भनेर नामकरण गरिएको छ । बेगखोलाको बादुक गाउँमा सन् १९२३ मार्चमा जन्मनुभएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती हुनुभएको थियो । उहाँको सन् २०११ अप्रिल २० मा ८८ वर्षको उमेरमा निधन भएको थियो । स्व पुनको श्रीमती, बुहारी नातिनी गाउँमा बसेर बुवाले बनाएको सम्पत्तिको संरक्षण तथा फलफूल लगाउने काम गरिरहेका छन् ।

मगर कलासंस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो पुल झोलुङ्गे पुल भएको यस बादुक गाउँमा स्व पुन नाममा सङ्ग्रहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी स्थानीयको आयआर्जनमा टेवा पुर्याउन सक्ने भएकाले त्यसतर्फ पहल थालिएको वडाध्यक्ष विलबहादुर फगामीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.