म्याग्दीकाे बादिकामा जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

| 2021 Jul 30 | 12:13 pm 957

म्याग्दी, साउन १५ः जिल्लाको धवलागिरी –७ बादिकामा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जीप दरबाङ–धारापानी सडक अन्तरगत बादिकाको भीरबाट खसेको हो ।

धवलागिरी गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएका थिए।

चालकसहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रुहरु बाँच्न सफल भएका छन्। जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।

स्थानीयबासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.