मौलाकालिकामा केवलकार राख्न आइएमइको तयारी

रिपोर्ट नेपाल | 2018 Jul 27 | 02:32 pm 2749

नवलपरासी, साउन ११: काठमाडौंको चन्द्रागिरीमा केवलकार संचालन गरेको आइएमइ समुहले नवलपुरको मौलाकालिका मन्दिरमा पनि केवलकार संचालन गर्ने जनाएको छ । ऐतिहासिक प्रख्यात तथा चर्चित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको आइएमइ ग्रुपले जनाएको छ ।

पूर्वी नवलपुरको गैंडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन अन्तिमचरणमा पुगेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले जानकारी दिएका छन् ।

करीब एक अर्बको लगानीमा निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको उक्त केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने बताइएको छ ।

पूर्वी नवलपुरको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गर्न लागिएको केवलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको प्रमुख पौडेलले बताए ।

गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ ग्रुपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ ।

कम्पनीले मौलाकाली मन्दिर परिसरमा प्रस्तावित मौलाकाली केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन इआइए सम्बन्धी स्थानीयवासीसँग केवलकार निमार्ण र त्यसको प्रभावको विषयमा छलफल गरेको आइएमइ समुहले जनाएको छ । छलफल पश्चात् गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने बताएका छन् ।

सम्बन्धीत निकायबाट सम्पूर्ण प्रक्रिया पूरा गरेपछि निमार्ण कार्य शुरु गरी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य आइएमइ समूहले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.