मौरीसहित कृषकलाई घार वितरण

| 2023 May 26 | 10:13 am 1169

तनहुँ, जेठ १२: तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ  । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो ।

ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे।

कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए। मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।

कृषकलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.