मोरङ, कात्तिक २५ः जिल्लको बेलबारी नगरपालिका–१ ढुकुरे चोकमा रहेको हार्डवेयर पसलमा शुक्रबार बिहानका राति आगलागी भएको छ। डबल खान ठकुरीको ३ तले घरमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयरमा बिहान १:४५ बजेतिर अचानक आगलागी भएको हो। प्रहरीले संकलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आगलागीमा ४ करोड बराबरको क्षति भएको छ। आगोले जलेर २ जना घाइते भएका छन्।
आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका सामान जलेर क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार आगोले जलेर ३० वर्षीय भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीय नमिता ठकुरी घाइते भएका छन्। शरीरका विभिन्न भाग जलेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भूषण र नमिता घरधनी डबल खान ठकुरीका छोरा बुहारी हुन्। आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली खटिएको थियो। नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान ३:२५ बजेतिर आगो नियन्त्रणमा लिइएको एसपी कोइरालाले बताए।
विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी कोइरालाले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट