काभ्रे, भदाै ९: स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो।
नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम भन्दै आलोचना गरेका छन्।
इँट्टा उद्योगहरू बन्द गर्न व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको हो। नगर प्रमुख टिपी शर्मा तिमल्सिनाका अनुसार वातावरण मैत्री हुन पटक–पटक दिइएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका बताए । साथै हामी निर्वाचित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो।
२०७४ साल जेठमा निर्वाचित जनप्रतिनिधिको पहिलो बोर्ड बैठक भदौ ११ गते बसेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न पटक–पटक गरेको अनुरोधलाई व्यवसायीहरूले लत्याउँदै आएका थिए। बरु नगरपालिकाको अनुमतिबिना अन्य उद्योगहरू धमाधम सञ्चालन भएका थिए। मरिसकेका व्यक्तिको नाममा रहेको उद्योग पनि नामसारी गरी सञ्चालनमा आयो।
यसअघि भट्टा उद्योगबाट निस्किएको कालो धूवाँ र दूषित कणले स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको प्रमाणसहित नगरपालिकामा ३३ वटा संस्थामा आबद्ध सयौं व्यक्तिले ज्ञापनपत्र बुझाएका थिए।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले वातावरण संरक्षण ऐन, २०५३ अन्तर्गत नमोबुद्ध नगरपालिकाभित्र रहेका कुनै पनि भट्टाहरू मापदण्डअनुरूप नरहेको प्रतिवेदन बुझाएका थिए ।
भट्टाकै कारण खोलाको पानी प्रदूषित भएको, पानीका मुहानहरू सुक्दै गएको, खेतीयोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भीर खेलवाड भएको निष्कर्ष प्रतिवेदनले निकालिएको थियो।
उद्योगहरूबाट निस्कने धूवाँको परीक्षणसम्बन्धी कार्यको अध्ययन–अनुगमन प्रतिवेदनमार्फत भट्टाहरूले सञ्चालन अनुमति प्राप्त गर्दा पालना गर्नुपर्ने कुनै पनि सर्तहरू पालना नगरेकाले तत्काल बन्द गर्न निर्देशन दिइएको नगर प्रमुख तिमल्सिनाले बताका छन् ।
नगरपालिकाले इँटा भट्टा बन्द गर्न दिएको निर्देशनअनुरूप २०७५ पुस २७ गते प्रतिबद्धता पत्र पेस भएसँगै पुस २८ गते व्यवसायी र नमोबुद्ध नगरपालिकाबीच ८ बुँदे सहमति भएको थियो। सहमति पत्रको बुँदा नम्बर ६ मा २०७६ असार मसान्तभित्र व्यवसायीहरूले उद्योग आफै हटाउने र नहटाए नगरपालिकाले हटाउने र त्यसको खर्च व्यवसायीले बेहोर्ने उल्लेख गरिएको छ।
व्यवसायी लक्ष्मण महर्जनले नगरपालिकाले उद्योग सार्ने स्थानको व्यवस्थापन नै नगरी हटाएकोमा ‘व्यवसायी मार्ने काम भयो’ भनी आपत्ति प्रकट गरेका छन्। उनले सर्वाेच्चबाट न्याय पाउने आश रहेको बताए। आइतबार नै व्यवसायीहरूले सर्वाेच्चमा रिट दर्ता गरेका छन् तर भट्टामा चिम्नी सबै भत्किसकेको छ।
उद्योगमा डोजर चलाउँदा व्यवसायीहरूले अवरोध गरेका थिए। उद्योगमा जाने सडकमा स्काभेटरसहितका सवारी साधनहरूले छेकेका थिए भने व्यवसायीमध्ये केही नगर प्रमुखविरुद्ध नाराबाजीमा उत्रिएका थिए।
प्रहरीले नगरपालिकाको अभियानमा अवरोध पुर्याउने नमोेबुद्ध नगरपालिका–३ का किशोर दाहाल, भक्तपुर–९ का राम सुवाल र राजन भैनालेलाई पक्राउ गरेको छ।
नगरपालिकाले भैरव कुण्डबाट डोजर लगाउन शुरू गरेको थियो। शिवशक्तिमा डोजर चलाएर विन्ध्वासिनी पुग्दा व्यवसायीको नाराबाजी शुरू भएको थियो। साँझसम्म नगरपालिकाले अन्य उद्योगहरूमा पनि अवरोध पन्छाउँदै चिम्नीमा डोजर चलायो भने केहीले आफै भत्काउन शुरू गरे।
नेपाल प्रहरीका ६०, सशस्त्र प्रहरीका ४१ जना, जनप्रतिनिधि, स्थानीयहरू अत्याधुनिक मेसिन औजारसहित चिम्नी उद्योगमा पुगेका थिए। नमोबुद्ध नगरपालिकामा ८ वटा उद्योग रहेका थिए। भट्टा भत्किएसँगै उद्योगहरूले मजदुरहरूको पारिश्रमिक नपाएको भन्दै मजदुरहरू आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। नेपाल समाचारपत्रबाट