बुटवल, पुस ९ः जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले ड्रोनबाट गरिएको जग्गा नापजाँचको प्रतिवेदन स्थानीय तहमा पठाउने प्रतिबद्धता जनाएको भन्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अब औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने बताए ।
पाण्डेले औद्योगिक क्षेत्रको जग्गा नापजाँच तथा सहजीकरणका लागि बनाएको कार्यदलले आफ्नो काम पूरा गरिसकेको र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नापजाँचपछिको प्रतिवेदन सम्बन्धित स्थानीय तहमा पठाएपछि ती स्थानीय तहले प्रतिवेदनलाई पास गरेर औद्योगिक क्षेत्र बनाउन योग्य क्षेत्र यकिन हुने र बाँकी काम अगाडि बढ्ने बताए ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि बुटवल उपमहानगरपालिकाको अगुवाइ तथा संयोजनमा गत भदौ १० गते जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो । गाेरखापत्र अनलाइनबाट