रुपन्देही, असाेज २४ः जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका छन् । प्रहरीको गोली लागेर घाइते भएका सुकुम्बासी समूहका तीन जनालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जनाएको हो ।
मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन्। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए। मृत्यु भएका सर्वसाधारण हुन्। अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे अस्पतलाले जनाएकाे छ ।
अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । तर, स्थानीय भने आफूहरुले वर्षाैदेखि उपभोग गरेको जग्गामा थाहै नदिई औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै विरोधमा उत्रिएका छन् ।
प्रहरीले शनिबार राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि आक्रोशित स्थानीयहरु भौतिक आक्रमणमै उत्रिएका थिए।
चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए ।