काठमाडौं, पुस ६ः महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले
मोटरसाईकल चोरी गर्ने दुई जनालाई आईतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने २६ वर्षीय छेसाङ्ग लामा र २३ वर्षीय शिल बहादुर तामाङ रहेका छन् ।
उनीहरूलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
त्रिपुरेश्वर स्थित अटो क्लिनिक मोटरसाईकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाईकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको खुल्न आएको हो । उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–००६ प २४९५ रहेको खुल्न आएको छ ।
उक्त मोटरसाइकल काठमाडौं अत्तरखेलबाट हराएको भनि जिल्ला खोटाङ ऐसेलुखर्क वडा नं. ६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए ।
दुवै जनालाई मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।