काठमाडौँ साउन २६: मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक शेयर (आइपिओ) आज मंगलबार बाँडफाँड भएको छ ।
२० लाख ६५ हजार १२४ जनाआवेदकहरूमध्ये गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । ६८ हजार ४७४ जना आवेदकले १० कित्ताका दरले र ६ जनाले एक कित्ता थप अर्थात ११ कित्ताका दरले शेयर पाएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको हो ।
लगानीकर्ताहरूले शेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँगको समन्वयमा उक्त निष्काशनको लागि मेरो शेयरमार्फत आवेदन दिने समय साउन १९ गते मंगलबार दिउँसो १२ बजेदेखि १ः३० बजेसम्म थप गरेको थियो । २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो ।
कूल निष्काशन कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। प्रतिशेयर १०० रुपैयाँको अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आइपिओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो शेयर कारोबारका लागि मूल्य तोकिने हुँदा कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९५.९५ देखि २८७.२५ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।
आइपिओ हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आइपिओ रिजल्ट सिडिएसी डटकम, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट र मेरो सेयरमार्फत पनि हेर्न सकिनेछ ।