मेहन्दी र हरियो चुराको ‘क्रेज’, ‘फेसन’ की ‘संस्कार’ ?

| 2018 Jul 23 | 09:20 am 4470

धनुषा, साउन ७: धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्। मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिइन्।

यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ ।

महेन्द्रनगरको एक चुरा पसलमा भेटिएकी मनिषाले हरियो चुरा लगाउँदा यही हुन्छ भन्ने थाहा नभएको बताइन्। आफ्नो नाडीको चुरा खेलाउँदै उनले खै साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ, उनले भनिन्। उनले हरियो चुरा लगाउँदा जीवनमा हरियाली छाउने विश्वास रहेको उनको भनाइ छ।

कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर यो महिनाभर होसियारी अपनाउने गर्दछन्। कहिल्यै हरियो चुरा नलगाउने युवतीले समेत चुरा लगाएर बजाउँदै हिँड्दा खुब सुहाएको र रमाइलो लागेको बताएका छन् । नारीमा यो महिना चुरा लगाउने सोख र होड चलेपछि चुरा पसले पनि मख्ख छन्।

महेन्द्रनगरस्थित मीना शृंगार पसलका प्रोप्राइटर वीरेन्द्र साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताए। साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

यसकारण पनि साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको संस्कृतिविद् रमापति चौधरी बताउछन्। चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । मेहन्दी लगाउने चलन भने छिमेकी देश भारतबाट भित्रिएको बताइन्छ।

यतिखेर बजारमा हरियो पोशाकमा सजिएर हातमा हरियो र रातो चुराको साथै हातमा विभिन्न डिजाइनको मेहन्दी लगाएर युवती समूहगत रुपमा हिँडेको साँच्ची नै निकै आकर्षक देखिन्छ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको ढल्केवरकी पवित्रा शर्माको भनाइ छ।

त्यसैगरी महेन्द्रनगरकी नमिता उप्रेतीले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै र हरियो चुरा र मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताइन् । परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी र चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्, उनले भनिन, “घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।

विवाहिताले पतिको सुस्वास्थ्य एवं दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।

नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । पछिल्लो समय हातभरि मेहन्दी लगाएर सजिसजाउ हुँदै हिन्दू महिलाले शिवको पूजापाठ, आराधना र भक्तिभाव प्रकट गरेर देखाउँदै आएको सक्रियता र बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दू धर्मको महिमा अझै बढिरहेको छ ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारका पसलमा चुरापोते अनि हरियो, राता, पहेँला बस्त्र खरिदकर्ताका भीडले व्यापार बढिरहेको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.