मेहनतीलाई स्वदेशमै सुख, सन्तोष र पैसाको बोट

| 2018 Oct 06 | 10:38 am 2495

– महेन्द्र पाण्डेय

नजिकको आरन छाडेर टाढाको उदिन धार लगाउने (ढुङ्गा खोज्ने) हाम्रो प्रवृत्तिलाई राजेशकुमार खड्गीले चुनौती मात्र दिएका नभई सबैका लागि उदाहरणीय पात्रसमेत बनेका छन् । भक्तपुरको सिरुटारमा जन्मिएर हाल काठमाडौं अनामनगरमा मासु व्यवसाय गर्दै आएका खड्गी मेहनत गर्ने हो भने पैसा कमाउन विदेश जान नपर्ने बताउँछन् । विदेशमा गएर भाँडा माझ्न र शौचालय सफा गर्न खुसी हुने नेपाली युवाले स्वदेशमै बसेर आफ्नो सानोतिनो पेशा गर्न चाहिँ लाज मान्ने गरेको उनको कथन छ ।

हुन पनि खड्गीको कथा सुन्दा मेहनत गरे पक्कै मिठो परिणाम हात लाग्छ भन्ने बोध हुन्छ । सानो उमेरदेखि नै मेहनती र सरल स्वभाव भएका उनले सुरुका दिनमा बाबुआमालाई कृषि पेशामा सघाउने गर्थे । पढाइमा समेत राम्रो दखल राख्ने उनलाई कक्षा ९ मा पढ्दासम्म आखिर धेरै पढेर शैक्षिक बेरोजगार हुनुभन्दा यत्तिकैमा व्यवसायी बन्ने बाटोमा किन नलाग्ने भन्ने सोच विकास भयो । आफ्नो छिमेकीले स्नातक तह पास गरेर पनि बेरोजगार भएको देखेका खड्गीको कलिलो दिमागमा ‘पैसा सबैभन्दा ठूलो कुरा हो, त्यसको लागि मेहनत चाहिन्छ’ भन्ने कुराले छाप पारेको रहेछ ।

९ कक्षामा पढ्दै गरेका उनलाई शिक्षाको भन्दा पैसाको भोक जागेपछि आफ्नो दाजुको मासु पसलतिर ध्यान जान थाल्यो । आफ्नो आँखाअगाडी छिमेकी दाजुले बिए पास गरेर भनसुन गर्ने मान्छे नभएका कारण इँटा बनाउने काममा लागेको देखेका उनले आफू पनि पढ्नतिर ध्यान दिने हो भने भनसुन गर्ने कोही छैन, दुःख पाइन्छ भन्ने सोच्दै त्यही हालत हुनुभन्दा व्यवसायतिर लाग्ने प्रण गरे ।

दाजुको मासु पसलबाट प्रभावित राजेशले पनि मासु पसल राख्ने अठोट गरे । २०३० सालमा जन्मिएका उनले २०५० मा ९ कक्षामा पढ्दै गरेको शिक्षालाई विश्राम लगाएर मासु व्यवसायमा लाग्न पुगे । काठमाडौंको असन (ज्याठा)बाट २०५० मा मासु पसलको व्ययसाय थालेका राजेशले सुरुका दिनमा सोचेअनुसार व्यवसाय नभएर हरेस पनि खानु परेको बताउँछन् । ज्याठामा भोगेको व्यवसायिक कठिनाईपछि पनि राजेश अत्तालिएनन्, बरु चरेस खाउँला हरेस त खाँदिन भन्ने अठोट लिए उनले । अग्रजहरुले भन्ने गरेको ‘रही व्यापार सही बुहारी’ भन्ने कहानी पनि उनले सम्झिए ।

‘विदेशी भूमिमा गएर रगतपसिना बगाएर पैसा कमिए त ठिकै होला, तर पैसाको साटो लास बनेर बाकसमा आउनुपर्यो भने त्यसको के अर्थ ? पैसाकै लागि आफ्नो ठाउँबाट टाढिनुभन्दा लाज नमानी आफ्नै जन्मभूमिमा मेहनत गर्ने हो भने पैसाको बोट त यहीँ छ ।’

मिठो भविष्यको कल्पना गर्दै व्यवसायलाई निरन्तरता दिएका उनी यतिखेर सफल र सुखी व्यवसायी बनेका छन् । ज्याठामा खसी–कुखुराको व्यापार कम तर राँगाको मासुको माग हुने भएकोले उनले खसी–कुखुराकै व्यापार गर्ने सोचले ०५३ सालमा अनामनगरमा पसल सारेर निरन्तर त्यसमै पसिना बगाउँदै आएका छन् । यसरी २२ वर्षदेखि अनामनगरमा पसल राखेका राजेश आफ्नो व्यवसायमा सन्तुष्ट छन् । स्वस्थ्यकर र सफा मासु बिक्री गर्ने गरेकै कारण अनामनगरवासीले उनको व्यावसायमा साथ दिएका छन् ।

दुई सन्तानका बाबु राजेश भन्छन्, ‘विदेशी भूमिमा गएर रगतपसिना बगाएर पैसा कमिए त ठिकै होला, तर पैसाको साटो लास बनेर बाकसमा आउनुपर्यो भने त्यसको के अर्थ ? पैसाकै लागि आफ्नो ठाउँबाट टाढिनुभन्दा लाज नमानी आफ्नै जन्मभूमिमा मेहनत गर्ने हो भने पैसाको बोट त यहीँ छ । सन्तोष लिन नसक्नेलाई जहाँ जे गरे पनि कमी नै हुन्छ तर सन्तोष लिन सक्ने हो भने आफूले जानेको काम गर्दा स्वदेशमै धेरै सम्भावना रहेछन् ।’

कमाएको पैसाले गंगबुमा साढे तीन तलाको घर बनाएका राजेशका जेठा छोरा पनि १२ कक्षाको अध्ययनपछि कपडा व्यवसायमा लागेका छन् । दिनमा झण्डै पचास केजी भन्दा ज्यादाी कुखुरा र दुईवटा खसी नियमित बिक्री गर्ने उनी गर्वका साथ भन्छन्– ‘मलाई यो व्यवसायबाट सुख र सन्तुष्टि मिलेको छ । सफा र स्वस्थ मासु बिक्री गर्ने व्यवसायी भन्ने चिनारी भएकोले ग्राहकको माया पनि प्रशस्तै पाएको छु ।’ हरेक सफलताको पछाडि संघर्ष हुन्छ नै, त्यसका साथसाथै मेहनत र परिश्रम पनि उत्तिकै महत्वपूर्ण हुने उनको ठम्याई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.