मेलम्ची खानेपानीको मुहानमा पानी पठाएर सफल परिक्षण

रिपोर्ट नेपाल | 2020 Mar 16 | 06:23 pm 1412

सिन्धुपाल्चोक, चैत ३: मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर सोमबार सुरुङको परीक्षण गरिएको छ । आयोजनाको मुहानको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।

आयोजनाको मुहान स्थलमा सुरुङ परीक्षण खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

मुहानमा अस्थायी बाँध बनाएर सुरुङको परीक्षण गरिएको खत्रीले बताए । सुरुङको परीक्षण सफल भएको र तोकेको समयभन्दा पहिले नै आयोजनाको काम पूरा हुने खत्रीले विस्वास व्यक्त गरे।

अब स्थायी ड्याम बनाउन समय लाग्ने भएकाले हाल अस्थायी ड्यामबाटै पानी लगेर ड्यामको काम बिस्तार गर्दै जाने आयोजनाको योजना रहेको उनले बताए ।

समय अगावै काम सकेमा पुरस्कारको समेत व्यवस्था गरेको आयोजनाले जनाएको छ । यही रफ्तारमा काम भएमा असोज अगावै मेलम्चीको पानी काठमाडौं पुग्ने कार्यकारी निर्देशक खत्रीको दाबी छ ।

आयोजनाको सुरुङको फिनिसिङको काम अन्तिम चरणमा पुगेको खत्रीले जानकारी दिए ।

करिब दुई दशकअघिबाट निर्माण सुरु भएको आयोजना पटक–पटक म्याद सार्दै आगामी असोज मशान्तभित्र सम्पन्न गर्ने भनिएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड गरी कुल ५१ करोड लिटर पानी राजधानी लाने आयोजनाको लक्ष्य छ ।

दोस्रो चरणको योजनाका लागि जग्गा अधिकरण र प्रवेश मार्ग निर्माणको काम थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.