मेलम्ची आयोजना सक्दो छिटो सक्न संसदीय समितिको निर्देशन

रिपोर्ट नेपाल | 2019 Sep 04 | 06:49 pm 1538

काठमाडौं, भदौं १८ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।

आयोजनाका विषयमा छलफल गर्न आज आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिए । गत पुसमै इटालियन निर्माण व्यवसायी कम्पनी सिएमसीले ठेक्का तोडी काम छोडेर हिँडेपछि आयोजना अझै अलपत्र छ ।

बैठकमा सांसद लेखराज भट्टले मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको पाइप फुटेर सडकमा पानीले असर गर्दा पनि व्यवस्थापन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । जनताले धारा जडान गरेबापत महसुल तिरिराखे पनि ट्याङ्करबाट पानी किनेर पिउन बाध्य हुनुपर्ने अवस्थाका बारेमा सरोकार भएका निकाय सचेत हुनुपर्ने उनको भनाइ थियो ।

सांसद राजेन्द्रकुमार केसीले सिएमसीले नै राखेका ‘सव कन्ट्याक्टर’लाई कामको जिम्मेवारी दिने भए नौ महीनासम्म के हेरेर बसेको भनी प्रश्न राखे । सिएमसीले काम छोडेर हिँडेपछि काम सम्पन्न भएको तथ्याङ्क फरकफरक प्रस्तुत भइरहेकाले वास्तविक कति हो भन्ने जिज्ञासा पनि उनले राखेका थिए ।

सांसद विरोध खतिवडाले सडकमा बिछ्याएको पाइपमा मेलम्चीबाट पानी आउँदा चापमा आउने भए पनि हाल सामान्यरुपमा मात्र हालेर परीक्षण भइरहेकाले पछि हुनसक्ने समस्याका बारेमा अहिल्यै ध्यान दिनेतर्फ सचेत गराए ।

सांसद शरद्सिंह भण्डारीले प्राविधिकले जनसप्रिय नाराका रुपमा मेलम्चीको पानी आउने समय अनुमान गर्दा पटकपटक समस्या आएकाले अब मिति घोषणा गर्दा विचार गर्न माग गरे । सांसद पार्वतीकुमारी विशङ्खेले आफूले दैनिक तीन जार पानी रु १५० का दरले महीनामा रु छ हजार ५०० पानीमै खर्च गर्ने गरेको सुनाए ।

“मेरो त सांसदको तलब भत्ता आउँछ, तिरौँला, सामान्य जनता, विद्यार्थीले कसरी निर्वाह गर्छन्, अन्यत्रको पानी खाँदा स्वास्थ्यमा सङ्कट आउँछ, जनस्वास्थ्यको यो गम्भीर विषयमा सरोकार भएका निकायको ध्यान जानु जरुरी छ”, उनले भनिन्।

सांसद धर्मशीला चापागाईंले राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्चीका बारेमा समन्वय नहुँदा काममा ढिलाइ भइरहेको बताइन् । सांसद सूर्य पाठकले आफू १६ वर्ष हुँदादेखि मेलम्ची खानेपानी आयोजनाका बारेमा सुने पनि ४४ वर्ष पुग्दासमेत सम्पन्न हुन नसकेको सुनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.