मेयरका प्रतिबद्धता अधुरै

रिपोर्ट नेपाल | 2022 Mar 22 | 08:16 am 1677

बारा, चैत ८ः जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा. कृष्ण पौडेलले चुनावको बेला र निर्वाचित भए पछि गरेका प्रतिबद्धता पूरा गर्न गर्नमा असफल भएको गुनासो बढेको छ। सो उपमहानगरपालिकालाई मेगा सिटी बनाउनका लागि आवश्यक पूर्वधार निर्माण गर्ने र नगरका गतिविधि पारदर्शी गर्ने मेयरको वाचा अधुरै रहेको नगरबासीको गुनासो छ।

मेघा सिटीको लागि जितपुरमा दुई सय शड्ढयाको अस्पताल, सर्पदंश उपचार केन्द्र, टर्मिनल बसपार्क, स्मारकसहित ग्रिनपार्क, व्यवस्थित पशु बधशाला, सिमरामा रंगशाला, कभर्ड हल, टाउन हल, बिजनेस टावर, अमलेखगन्जमा पर्यटन केन्द्र, डुमरवाना, फत्तेपुर, इनर्वासिरा र जैतापुरमा कृषि बजार, नदी नियन्त्रण र जग्गा व्यवस्थापन, उद्योग कलकारखानाको प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापन गर्ने, उपमहानगरलाई दुई तहको चक्रपथसहित सबै वडा र टोल जोड्ने सडकलाई फराकिलो र पक्की बनाउने जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा डा. कृष्ण पौडेलले प्रतिबद्धता गरेका थिए।

करिब ३ सय १४ वर्गकिमिमा फैलिएको यस उपमहानगरको जनसंख्या २०६८ को जनगणनाअनुसार एक लाख १७ हजार रहेको छ। प्रमुख पौडेलले गरेका एउटा पनि प्रतिबद्धता पूरा नगरेको तत्कालीन माओवादीबाट नगर प्रमुखमा चुनाव लडेका राजन पौडेलले दाबी गरेका छन्।

जितपुरसिमरा उपमहानगरपालिका देशकै उपमहानगरपालिकाहरू मध्ये बढी आन्तरिक आय स्रोत भएको उपमहानगरपालिका भए पनि एउटा पनि पाँच वर्ष तीन करोडको लागतको पूर्वाधार निर्माणको कार्य प्रमुखले गराउन नसकेको पौडेलले बताए। उपमहानगरपालिकाको नदीजन्य पदार्थको करोडौं रूपैयाँ राजस्व ठेकेदारले नतिरेको पालिकाको गतिविधिलाई समेत सार्वजनिक नगरिएको र कमिशनको भरमा खुद्रे योजनाहरूमा बजेट रकम खर्च गरेर जितपुरसिमरा उपमहानगरपालिकालाई राम्रोभन्दा नराम्रो काममा एक नम्बर बनाएको आरोप पौडेलले लगाए।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अधिकांश भागहरू जितपुरसिमरा उपमहानगरपालिका भित्र पर्ने गरेको छ। औद्योगिक नगरीबीच अवस्थित जितपुरसिमरा उपमहानगरमा विकासका सम्भावना धेरै भए पनि प्रमुखले चुनावको बेलामा गरेको वाचा पूरा नगर्दा र निजी स्वार्थमा लाग्दा अहिले बेहाल अवस्थामा पुगेको राजन पौडेलले गुनासो गरे।

नगर प्रमुख पौडेलले नगरपालकाको आन्तरिक स्रोतको रकम सही तरिकाले बिकास निर्माणको कार्यमा खर्च गरेको भए पनि अहिले उपमहानगरपाकिाल भित्रमा करोडौ लगानीको नगर अस्पताल, बसपार्क, व्यवस्थित पशुबधशाला, आधुनिक सिमरामा रंगशाला, कभर्ड हल, नगर सभागृह, अमलेखगन्जमा पर्यटन केन्द्र, ग्रामीण भागमा कृषि बजार, नदी नियन्त्रण लगायतको राम्रो पुर्वधार निर्माण हुनेथ्यो तर अहिले जतिसुकै आन्तरिक स्रोतसाधन भए पनि कमिसनको लोभमा एउटा पनि क्षेत्रमा आवश्यक पर्ने पूर्वधार निर्माण नदेखिएको गुनासो उनले गरे।

यसको साथसाथै जग्गा व्यवस्थापन, उद्योग कलकारखानाको प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापन गर्ने, उपमहानगरलाई दुई तहको चक्रपथसहित सबै वडा र टोल जोड्ने सडकलाई फराकिलो र पक्की बनाउने बनाउने कार्यमा समेत प्रगति नगरपालिकाले नगरेको पौडेलले बताए।

जितपुरसिमरा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक करिडोर, सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज यस उपमहानगरभित्र रहेका छन्। नगर क्षेत्रमा रहेको आर्थिक क्षेत्र र पर्यटकीय स्थानहरूमा लगानी गरेर नै नगरलाई समृद्ध बनाउन सकिने अवस्था हुँदाहुँदै पनि त्यसबाट नगर प्रमुखको गैरजिम्मेवारीले गर्दा चुकेको उनले बताए।

साविक १० गाविस पूर्ण तथा आंशिक रूपमा समेटिएर गढीमाई नगर हुँदै उपमहानगरपालिका बनेको जितपुरसिमराले विकास निर्माणमा निर्वाचित जन प्रतिनिधिहरूको कार्यकालमा खासै प्रगति गर्न सकेको छैन। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् जस्ता पूर्वाधार निर्माणको कार्यमा जनताको उपेक्षाअनुसार काम नगरिएको गुनासो नगरबासीको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, तराई–काठमाडौं एक्सप्रेस हाइवे (द्रुतमार्ग), विशेष आर्थिक क्षेत्र, पथलैया–वीरगन्ज ६ लेनको व्यापारिक मार्ग, पर्सा राष्ट्रिय निकुञ्ज, वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर यसै उपमहानगरमा रहे पनि जनप्रतिनिधिका कारणले यहाँका बहुआयामिक सम्भावना र विकासमा खासै प्रगति जितपुरसिमरा उपमहानगरपालिकाले गर्न सकेको छैन। उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले निर्वाचनको बेलामा गरेका अधिकांश वाचाहरू पूरा गरेको दाबी गरेका छन्।

नगरक्षेत्रमा दुई सय शड्ढयाको अस्पताल बनाउने वाचा गर्नु भएको थियो कहाँ अस्पताल बनाउनु भएको छ भन्ने प्रश्नमा प्रमुख पौडेलले अस्पताल बनाउने प्रक्रियामा लागेको तर्क गरे।

नगरलाई मेगा सिटी बनाउनेबारे पौडेलले मेगा सिटीको लागि डिपीआर तयारी गराइएको र अगाडि दिनहरूको डिपीआरको अनुसार नै पूर्वधारहरू निर्माण गर्ने दाबी गरे।

अधिकांश ग्रामीण भागहरू भएको जितपुरसिमरा उपमहानगरपालिका भित्रमा अहिले पनि सडक, नाला, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक तथा सहकारी क्षेत्रमा आवश्यकताअनुसार लगानी नगरिएको गुनसो नगरवासीहरूले गर्दै आएको छन्।

जितपुरमा दुई सय शड्ढयाको अस्पताल, सर्पदंश उपचार केन्द्र, टर्मिनल बसपार्क, बिजनेस टावर, स्मारकसहित ग्रिनपार्क, पशुबधशाला, सिमरामा रंगशाला, कभर्ड हल, टाउन हल, बिजनेस टावर, अमलेखगन्जमा पर्यटन केन्द्र, डुमरवाना, फत्तेपुर, इनर्वासिरा र जैतापुरमा कृषि बजारमा उपमहानगरपालिकाले लगानी नगरेको देखिन्छ भने दुधौरा, बालगंगा, पसाह नदी नियन्त्रणको कार्यसमेत नगरिदा बर्सेनि नदीले कटान गर्दा खेतीयोग्य जग्गा मरुभूमि बन्दै गएको छ। उद्योग र कलकारखानाका प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापनमा उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका नखेल्दा उद्योगी र स्थानीयबीच बेलाबेलामा झडपसमेत हुने गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा दुधौरा, पसाल, बालगंगा गरी तीनवटा खोलाहरूको नदीजन्य पदार्थको ठेक्का लिएका ठेकेदारले अहिलेसम्म पनि अन्तिम किस्ताबापतको तीन करोडांै रकम नतिरी आफूसँग राखेका छन्।

पसाह खोलाका ठेक्का लिएका ओम सप्लायर्सका सञ्चालक ओमशंकार साहले तेस्रो किस्ताको लागभग एक करोड, दुधौराका श्रेष्ठ बिल्डर्सका लालबहादुर श्रेष्ठले तोस्रो किस्ताबापत तिर्नुपर्ने लगभग करोड २७ लाख र बालगंगाका न्यू पाथीभाराका दीपक श्रेष्ठले तेस्रो किस्ताबापत तिर्नुपर्ने लगभग करोड २७ लाख नतिरेको जितपुरसिमरा उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख पूर्ण तिवारीले बताएका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.