मेडिकल व्यवसायी प्रसाईंलाई कारबाही माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव

| 2018 Jul 29 | 05:08 pm 1791

काठमाडौँ, साउन १३ : नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका र अध्ययनरत नेपाली छात्राका सम्बन्धमा अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्नका लागि संघीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो । कांग्रेसले झापास्थित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईंले केही समयअघि बंगलादेशमा अध्ययनरत नेपाली छात्राका बारेमा दिएको अभिव्यक्तिले संविधान र कानूनको उल्लंघन भएको आरोप लगाएको छ ।

उक्त अभिव्यक्तिले नेपाली छात्राको इज्जत, मान र प्रतिष्ठामाथि धावा बोल्ने काम भएको ठहर गर्दै कांग्रेसका सांसद डिला संग्रौला (प्रस्तावक) तथा लक्ष्मी परियार र प्रमिला राई (समर्थक) ले तत्काल कानुनी कारवाहीका लागि उक्त प्रस्तावको सूचना दिएका हुन् । त्यस्तो अभिव्यक्तिले मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा समेत आँच पुर्‍याउन सक्ने भन्दै उनीहरुले निजमाथि कानुनी कारबाही गरी संविधान र कानूनको पालनामार्फत नेपाली महिला, विद्यार्थी र नागरिकको स्वाभिमानको रक्षा गर्न आवश्यक रहेकाले प्रस्ताव दर्ता गराएको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.