मेडिकल कलेज सञ्चालक प्रसाईकाे प्रश्न – जनताको स्वास्थ्य उपचार गर्दा के अपराध गरेँ ?

| 2018 Jul 12 | 06:18 pm 3220

काठमाडौं, २८ असार : मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै आफू अन्यायमा पर्नुको साथै सुदुरपूर्वमा अस्पताल खोल्दा माफियाको आरोप खेपिरहेको दुःखेसो पोखेका हुन्।

बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसँग माग समेत गरेका छन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरू पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरूले मलाई माफिया भन्ने गरेका छन्, मैले कसैको पैसा लुटेको होइन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्, अरू मेडिकल कलेजहरूले गल्ती गरेका छैनन् भन्दिन तर गल्ती नै नगरेको व्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

मेडिकल खोल्दा लिएको ऋण अझै तिरि नसकेको समेत बताउदैँ भने, ‘सरकारले नै मलाई बोलाएर एल.ओ. आई दिएको थियो, त्यसपछि मैले मेडिकल कलेजको काम गरेको हुँ, त्यही एल.ओ.आई देखाएर बैंकबाट ऋण लिएको छु, अहिलेपनि ऋणमा छु ।’

हिजोका दिनहरूमा जस्तो पूर्वको क्षेत्रका मानिसहरू भारतको सिलगुढि उपचार गर्न जानु नपर्ने बताए । उनले भने,  ‘पूर्वका २९ लाख जनताको स्वास्थ्य उपचार गर्दा अपराध गरेँ ? हिजोका दिनहरूमा भारतको सिलगुढि उपचार गर्न जादाँ कति छोरीचेलीहरु बलात्कार हुन्थे, आज त्यो समस्या दूर भएको छ, बोरामा बोकेर ल्याएका खुट्टाहरू जोडेर बिरामीलाई घर पठाएका छौँ, टाउका गोलीहरू निकालेका छौँ, वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गरेका छौँ, राज्यलाई करोडौँ रुपैयाँ कर तिरेका छौँ ।’ स्वास्थ्यमा भ्याट छुट गर्नुपर्छ भन्ने माग गर्दै प्रसाईले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा समेत जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.