काठमाडौं, असोज १५ : महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले यही किसिमले सामाजिक संजालको गलत प्रयोग हुँदै जानेहो भने अवको केही वर्षमा अपराधको महामारी आउने बताएका छन् ।
नजिकिदै गरेको दशैं र तिहारको अवसरमा लामो समय विद्यालय बन्द हुने र काँचो माटोको रुपमा रहेका बालबालिकाले समय कटाउने नाममा गलत कृयाकलाप गर्न सक्ने कुरालाई मध्यनजर राख्दै सोमबार अपरान्ह अनामनगर स्थित नेपाल मेघा स्कुलमा आयोजित सचेतना कार्यक्रममा डिएसपी आचार्यले उक्त कुरा बताएका हुन् ।

अभिभावक र विद्यार्थीसँगको सचेतना कार्यक्रममा डिएसपी आचार्यले फेसबुक सकरात्मक सन्देश पठाउन जति सशक्त माध्यम ठानिएको छ यसको प्रयोगले जानेर वा नजानेर अपराध कर्म गर्न पनि उत्प्रेरणा जगाएको बताए । फेसबुकको सानो गल्तीका कारण घरेलु हिंसा बढ्ने देखि सम्बन्ध विच्छेदसम्मका घटना भएकोले सचेत रहन डिएसपी आचार्यले अभिभावकसँग आग्रह गरेका थिए ।
केही वर्ष पछिको महामारिको संज्ञा बुझेकै कारण छिमेकी राष्ट्र चीनले फेसबुक संचालनमा रोक लगाएको हुन सक्ने उनको अनुमान रहेको थियो । डिएसपी आचार्यले मेघा स्कुलका उपस्थित अभिभावकसँग विशेष आग्रह गर्दै बच्चालाई कोठामा एक्लै बस्न दिएर गलत दृष्य र च्याट गर्न सक्ने भएकोले खुला ठाँउमा घुलमेल गराउन आवश्यक छ ।

जसरी अहिले हामीले लागु औषधलाई दुर्यव्यसनी भन्छौं फुसबुक, मेसेन्जर लगाएत अन्य सामाजिक संजालमा बढी व्यस्त हुन दिदा बच्चा लागु औषधको भन्दा अझ बढी खराब हुन सक्ने डिएसपी आचार्यको भनाई रहेको थियो ।
उनले बच्चा मात्रै होइन ठूला मान्छेको असावधानीले गर्दा जीवन भर कमाएको सम्मान एकै क्षणमा चकनाचुर हुने कुरामा समेत सचेत परेका थिए । नेपाल मेघा स्कुलका प्रिन्सिपल मदन पोख्रेलले दशैं तिहारको लामो विदामा विद्यार्थी गलत क्रियाकलापमा नलागुन भनेर प्रहरी विद्यार्थी हातेमालो कार्यक्रम अन्तर्गत साइबर अपराध सचेतना कार्यक्रम राखिएको बताए ।
सामुदायिक प्रहरी सेवा घट्टेकुलोको समन्वयमा राखिएको उक्त सचेतना कार्यक्रममा अभिभावकका साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो । स्कुलले यस अघि साइबर अपराधका विषयमा छुट्टै विद्यार्थीलाई सचेतना कक्षा प्रहरीकै विशेष सहयोगमा प्रदान गरेको थियो ।