काठमाडौं, १९ असार : दुई गोलले मेक्सिकोलाई हराएर विश्वकपको एक प्रमुख दाबेदार मानिएको ब्राजिल क्वाटर फाइनलमा पुगेको छ। सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिए ।मेक्सिको विरूद्ध सोमबार भएको खेलमा ब्राजिलका स्टार खेलाडी नेइमार ‘नायक’ नै साबित भए । एक उत्कृष्ट गोल गरेर र एक उत्कृष्ट पास मिलाएर नेइमार ब्राजिललार्इ क्वाटरफाइनलको यात्रा तय गराए । मेक्सिको गोलविहीन रहँदा ब्राजिलले २ गोल गर्यो ।
नेइमारले खेलको ५१ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए भने ८८औँ मिनेटमा उनैको पासमा सब्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका रोबर्ट फिरिमिनोले दोस्रो गोल गरे । उनी नायक घोषित भए पनि विश्लेषक एवं दर्शकहरूले उनको अभिनय गर्ने बानी उस्तै रहेको बताएका छन् । तर यो खेलमा गोल गरेर चम्किए पनि नेइमारको एउटा बानी भने नसुध्रिएको विश्लेषकले आरोप लगाएका छन् । सानो ट्याकलमा पनि मैदानमा लड्ने र त्यसलाई ठूलो देखाउने वा अभिनय उनको बानीले कतिलार्इ खुसी त कतिलार्इ हैरान समेत बनायो । तर, उनको खेलको भन्दा ‘अभिनय’ को बढि चर्चा भइरहेको छ ।

सोमबार रातिको खेलमा मेक्सिकोका फुल—ब्याक म्यानुअल लायुनले मैदानमा लडिरहेका नेयमारसँग भएको बल विस्तारै खोसेर लिए । त्यसपछि नेयमान जोड–जोडले चिच्याउँदै लडीबुडी गर्न लागे । त्यसलगत्तै के भयो भन्दै मेक्सिकोका खेलाडी, उनका साथीहरु, प्रशिक्षक र प्राविधिक टोलीका सदस्य उनी वरपर घेरिए । उनी गम्भीर घाइते भएको अनुमान गरियो । तर, केही बेरमै उनी ठिकठाक भएर खेल्न थाले ।
मेक्सिकोका प्रशिक्षक हुवा कार्लोस ओसोरिओले नेइमारको ‘अभिनय’ फुटबलका लागि राम्रो उदारहण नभएको र नेयमारले यस्तो गर्नु फुटबलका लागि लाजमर्दो कुरा भएको बताएका छन् ।
‘यो फुटबलका लागि लज्जास्पद हो । एउटा खेलाडीका कारण हामीले धेरै समय खेर फाल्यौं,’ ओसोरिओले भने, ‘यो उकृष्टताका साथ खेलिने खेल हो, नकि अरुलाई यति धेरै मुर्ख बनाएर ।’ यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको कुरा सामाजीक संजालभरी सर्वत्र आलोचनाको विषय बनेको छ ।
गोलपछि उनी बुरूक्कै उफ्रेर सहकर्मीको काँधमा चढेर खुसी मनाएका थिए । दुवै पटकको गोल पोस्टको एकदमै नजिकबाट भएको थियो र गोलकर्ता स्वयं नै पोस्टभित्र छिरेका थिए । नेइमार खेलको म्यान अफ द म्याच घोषित भए ।