काठमाडाैं, जेठ ३ः कोभिड—१९ महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भयो। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आए पछि नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक आइतबार रातीबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढायो । महामारीको बेला भाउ बढाएको भन्दै निगमको आलोचना भएको छ।
मूल्य बढाउँदा पनि आयल निगमलाई १५ दिन मै एक अर्ब १५ करोड रुपैयाँ घाटामा छ। किन त ? सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण निगमलाई घाटा छ भने उपभोक्ताले महंगो इन्धन खरिद गर्न बाध्य छन्। सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो । निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।
निगमले आइओसीबाट सस्तोमा पेट्रोल खरिद गरे पनि विभिन्न शीर्षकमा कर तिर्नुपर्छ । पेट्रोलमा राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रतिलिटर ५५ रुपैयाँ २३ पैसा तिर्दै आएको छ । त्यसैगरी, डिजेलमा राजस्व र मूल्य अभिवृद्धि कर प्रति लिटर ३७ रुपैयाँ ९० पैसा तिर्नुपर्छ । त्यसमा निगमले ढुवानी भाडा, डिलर कमिसन, व्यवस्थापन गरेर मूल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ५८ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, एलपिजी ग्यासमा प्रति सिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको छ । ‘१५दिनमा १ सय १० करोड रुपैयाँ घाटा हुने देखिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘ग्यासमा मात्र निगमलाई ५४ करोड रुपैयाँ घाटा छ ।’ नागरिक दैनिकबाट