मुस्ताङ जाने पर्यटक बढे

रिपोर्ट नेपाल | 2022 Nov 14 | 07:20 am 1413

मुस्ताङ, कात्तिक २८ः कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।

जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताइन् । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उनले भनिन् । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिइन् ।

विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपियाँको कारोबार हुने गरेको उनले जानकारी दिइन् । उनले भनिन्, “उपल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ, जोमसोम आसपासका क्षेत्रमा विदेशी पर्यटकको चहलपहल छ ।”

मुक्तिनाथकै होटल नरलिङका सञ्चालक तेन्जिङ गुरुङले यतिबेला सबैभन्दा धेरै भारतीय पर्यटक मन्दिर दर्शन गर्न आउने गरेको बताए । मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा थोरै पर्यटक मात्र बास बस्ने र खाना खाएर जाने गरेको उनले जानकारी दिए ।

यस्तै मुस्ताङको छुसाङस्थित एलिस होटलका सञ्चालक विदुर गुरुङले माथिल्लो मुस्ताङ कोरला नाकासम्म पुगेर मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने गरेको बताए।

दिनमा एक सयदेखि दुई सय जना सीमानाकासम्म पुग्ने गरेको उनले जानकारी दिए । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उनले जानकारी दिए ।

यस्तै लोमान्थाङस्थित मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिए । दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उनले जानकारी दिए । धेरैजसो पर्यटक मुक्तिनाथ दर्शन गरेर जाने हुँदा कम मात्र माथिल्लो मुस्ताङ घुम्न आउने गरेको उनले जानकारी दिए ।

आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा जाने गरेका छन् । भक्तपुरबाट मुस्ताङ घुम्न आएका हेमराज ढकालले ठाउँठाउँमा कच्ची सडक भएकाले सडक व्यवस्थित गर्नुपर्ने बताए। सडक मर्मत, सुधार भए पर्यटक सुरक्षित यात्रा गर्न सक्ने र सङ्ख्या बढ्ने बताए । जिल्ला प्रहरी कार्यालय, मुस्ताङका इन्स्पेक्टर गोपीकृष्ण सुवेदीले गत वर्षको तुलनामा अहिले आन्तरिक र बाह्य पर्यटक बढेको जानकारी दिए । घुम्न साना ठूला गरेर दैनिक तीन सय सवारीसाधन आउने गरेको उनले जानकारी दिए । समूह–समूह बनाएर मोटरसाइकलमा पनि धेरै घुम्न आउने गरेको उनले जानकारी दिए ।

छ वर्षअघिदेखि पोखरा–मुस्ताङ रुटमा पर्यटकको सवारी चलाउँदै आएका लोकराज खत्रीले एक महिनादेखि नियमित रूपमा पर्यटक बोकेर माथिल्लो मुस्ताङसम्म पुग्ने गरेको बताए । पोखराबाट मुस्ताङ र फेरि पोखरा आइपुग्ने भएकाले आम्दानी पनि राम्रै भएको उनले जानकारी दिए । चीनको तिब्बतसँगको सीमा कोरला नाकासम्म नै सडक पुगेको छ । मुस्ताङ जान यातायातको सहज पहुँचका कारण धेरै पर्यटक जाने गरेका छन् । मुस्ताङमा चलचित्र छायाङ्कन गर्नसमेत जाने गर्छन् ।

पर्यटकको चहलपहल बढेसँगै लामो समयदेखि बन्द रहेका होटल व्यवसाय पुरानै लयमा फर्कन लागेको व्यवसायी निर्मला शेरचनले बताइन् । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीको बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलमा चहलपहल बढ्न थालेको बेनीका होटल सञ्चालक अमर कार्कीले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.