काठमाडौँ साउन २४: नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आईस क्राफ्ट सम्बन्धि ज्ञान दिलाउने उद्देश्यले हिमाल पारीको जिल्ला मुस्ताङ्गको जोमसोममा तालिम शुरु भएको छ। नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्वदेशी तथा विदेशी शिक्षार्थी सहभागी गराई २४ गतेदेखि उच्च ऊंचाई र माउन्टेन युद्ध तालिमको शुभारम्भ भएको हो ।
उक्त शिक्षालयका शिक्षाधिकृत महा सेनानी सुरेश हमालले प्रथम प्रवचन गर्नु भई शुरु भएको सो तालिम असोज १ गतेसम्म संचालन हुने जनाइएको छ । तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरि जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ मित्रराष्ट्र अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जाका शिक्षार्थी जम्मा ५ जना सहभागी भएको कुरा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।