मुस्ताङ, पुस १८ : हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या २०१७ को भन्दा २०१८ मा १२ प्रतिशतले बढेको छ ।
तथ्यांकको आधारमा २०१७ मा ५२ हजार ४ सय ७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा २०१८ मा ५९ हजार ८ सय ३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
२०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । आएका पर्यटक मध्य सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या ३३ हजार १ सय ५९ जना छ । जर्मनीका तीन हजार २ सय १० र फ्रान्सका तीन हजार ८९ जना छन् ।
२०१७ मा २४ हजार ८ सय ८ भारतीय, तीन हजार १ सय २३ फ्रान्सेली र दुई हजार ६ सय ३९ जर्मन पर्यटक थिए । २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए ।
मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्यांक संकलन गर्दै आएको छ । माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणका केन्द्र छन् । मुस्ताङ एक्यापअन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित हुदँै आएको छ।