मुलुकभर मनसुन सक्रिय

रिपोर्ट नेपाल | 2022 Jun 29 | 07:55 am 1409

काठमाडौं, असार १५: सुरुवाती अवस्थामै मनसुनी वायु मुलुकभर सक्रिय भएको छ। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनका कारण मंगलबार देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशका विभिन्न स्थानमा हलुकादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्छ। भारी वर्षा ५० देखि १ सय मिलिमिटरसम्म मानिन्छ। १ सयदेखि २ सय मिलिमिटर वर्षालाई धेरै भारी वर्षाका रूपमा लिइन्छ।

मनसुनको सुरुवाति अवस्थामा देशका धेरै स्थानमा वर्षा भएको छ। वरिष्ठ  मौसमविद् पौडेलका अनुसार सुरुवाति अवस्थामा नै  मनसुन सक्रिय देखिएको छ। कर्णाली र सुदूरपश्चिमको एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ।  ‘एक–दुई दिन मनसुन सक्रिय रहने देखिएको छ। राति पनि वर्षा हुन सक्ने देखिन्छ,’ उनले भने, ‘बिहीबार बेलुकादेखि मौसममा क्रमशः सुधार हुँदै जाने देखिएको छ। मौसम सुधार केही दिनसम्मका लागि मात्र हुनेछ।’

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहने विभागले जनाएको छ। मुलुकका धेरै स्थानहरूमा हलुकादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार दिउँसो पनि सामान्य बदली रहनेछ।  देशका केही स्थानहरूमा हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.