मुद्दाको पेशी तोक्न गोलाप्रथा लागू गरिने

| 2021 Nov 19 | 08:50 am 1561

काठमाडौं, मंसिर ३ः सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेको हो । सो नियमावली लागू भएपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएको छ ।

एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशबाहेकका १८ जना न्यायाधीश छुट्टै बसेर गोलाप्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो । पूर्ण बैठकबाट स्वीकृत नियमावली र निर्देशिका मुख्य रजिस्ट्रारमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएर राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः पूर्ण बैठक बसेपछि गोलाप्रथा लागू हुनेछ । ९ पृष्ठको यो निर्देशिकाले गोलाप्रथा प्रणालीसम्बन्धी विस्तृत व्यवस्था गरेको छ । निर्देशिकाअनुसार इजलास गठन र पेशी सूची निर्धारण गर्न मुख्य रजिस्ट्रारले सो दिनका लागि तोकिएका मुद्दालाई समूहमा विभाजन गरेर उक्त दिन गठन हुन सक्ने इजलास संख्याबारे प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई जानकारी गराउनुपर्ने हुन्छ ।

जसअनुसार प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेशी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ ।गोला प्रक्रियाद्वारा बृहत् पूर्ण÷पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ । निर्देशिकामा जनाइएअनुसार त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्नेछ ।

त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाउनुपर्ने हुन्छ, जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिन्छ । गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिने र त्यसका लागि छुट्टाछुट्टै थैली र गोटीको व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.