मुगु, साउन ३० । सोमबार अपरान्ह ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका एक जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीको अस्पताल नपुग्दै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुंगानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी यसअघि हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपगाउँका राम परियार, प्रकाश बोहोरा, अर्का राम परियार र पिउस परियारको मृत्यु भएको थियो ।
जीप सडकबाट २०० मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ ।