मुगाको कारोबार गर्ने एक विदेशीसहित दुर्इ नेपाली प्रहरीको फन्दामा

| 2018 Aug 12 | 08:47 pm 2059

काठमाडौँ, साउन २७: मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित महानगरीय प्रहरी परिसर काठमाडौँले तीन जनालाई पक्राउ गरेको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अल अस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई परिसरको टोलीले पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले अभियुक्तहरुसँग आठ किलोग्राम मुगा, पाँच हजार २०३ अमेरिकन डलर, एक हजार ४०० यमन मुद्रा, ७५० इजिप्ट मुद्रा, ४९३ चिनियाँ मुद्रा, २६० यमन मुद्रा, २६० थाइल्याण्ड मुद्रा, २७ ओमन मुद्रा र २० सुडानको मुद्रा समेत बरामद गरेको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले ठमेलमा बसेर विभिन्न देशका व्यक्तिलाई अवैधरुपमा मुगाको व्यापार गर्दै आइरहेको अनुसन्धानमा खुलेको जानकारी दिए । पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.