मुख्यमन्त्रीका लागि चीनयाँ विद्युतीय जीप

| 2018 Nov 05 | 06:07 am 2024

मकवानपुर, कार्तिक १९: तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो।

मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको छ भने २ घण्टा चार्ज गर्दा जिप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ। उक्त जीप नेपालका लागि चिनियाँ कम्पनीको सो गाडिहरुको बिक्रेता सूर्या गुड्स सप्लायर्समार्फत् ल्याईएको हो।

‘देशको वातावारणमा स्वच्छता कायम राख्ने भरपर्दो उपाय विद्युतीय गाडीको प्रयोग र प्रवद्र्धन हो,’ मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘सरकारले प्रदेशलाई अब विद्युतीय सवारी साधनतर्फ डोर्याउने छ।’ स्वदेशमै विद्युत पर्याप्त उत्पादन हुने भएकाले विद्युतीय सवारी साधनको सञ्चालनमा बृद्धि गर्नुपर्नेमा जोड दिदै उनले विद्युतीय सवारी वातावरणमैत्री समेत रहेकाले सरकारले विशेष कदम चाल्ने बताए।

विसं २०८५ सालदेखि केही ठूला शहरहरुमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पूर्ण रुपमा प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रम प्रदेश सरकारले घोषणा गरिसकेको छ। ती शहरहरुमा काठमाडौं उपत्यका, चितवन, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, धुलिखेल र पनौतीलगायत रहेका छन्।

सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने बताउँदै प्रदेश सरकारले यातायात सेवालाई वातावरणमैत्री बनाउने अभियान अन्तर्गत मुख्यमन्त्रीबाट अभियान शुरु गर्न लागेको जनाएको छ।

विद्युतीय सवारीहरुको नियमित सञ्चालनका लागि प्रदेशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न समेत लागिएको छ। त्रिभुवन राजपथको विभिन्न स्थान, पूर्वपश्चिम राजमार्गको चितवनको मुग्लिन, हेटौंडालगायतमा केही महिनापछि चार्जिङ स्टेशन बनाईने छ। पहिलो चरणमा भने प्रदेश राजधानी हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर (बहुउपयोगी) चार्जिङ स्टेशन स्थापना गरिनेछ।

प्रदेश सरकारले स्थानीय रुटमा विद्युतीय बस पनि सञ्चालनको तयारी गरिरहेको छ। पहिलो चरणमा हेटौंडा–नारायणगढ विद्युतीय बस सञ्चालन हुने छ। निकट भविष्यमै प्रदेश राजधानी हेटौंडाबाट प्रदेशको प्रमुख क्षेत्रसम्म विद्युतीय बस सञ्चालनको तयारी भईरहेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.