मुक्त हलियाद्वारा पुनःस्थापनाको माग

रिपोर्ट नेपाल | 2019 Feb 12 | 04:51 pm 2381

बैतडी, माघ  २९ : बैतडीका मुक्त हलियाले आफूहरुको नाम तथ्याङ्कमा समेटी तुरुन्त पुनःस्थापना गर्न माग गरेका छन् । जिल्ला सदरमुकाममा सोमबार तथ्याङ्कमा छुटेका मुक्त हलियाको अवस्थाका बारेमा गरिएको सामूहिक छलफलमा सहभागी मुक्तहलियाले सरकारले आफूहरुलाई ठगेको बताएका छन् ।

सरकारले मुक्त गरेपछि पनि आफूहरुको जीविकोपार्जनमा समस्या आएको उनीहरुको भनाइ थियो । मुक्त गरेर आफूहरुलाई अलपत्र छोडेको मुक्त हलियाहरुले बताएका छन् ।

बैतडीमा करीब पाँच हजार मुक्तहलिया भए पनि दुई हजार २२ जना मात्रै तथ्याङ्कमा समेटिएको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष रमेश कोलीले जानकारी दिए ।

अहिलेसम्म एक हजार ५५८ जनाले मात्रै मुक्तहलिया परिचयपत्र पाएका छन् । उनीहरुमध्ये एक हजार दुई सय तीनजनाको पुनःस्थापना भइसकेको छ । छुट भएका मुक्तहलियाले आफूहरुको अवस्थाका बारेमा अध्ययन गरेर चाँडो भन्दा चाँडो पुनःस्थापन गर्न दबाब दिएका छन् ।

भूिम अधिकारमञ्च, जिल्ला हलियामुक्ति समाज, हलिया महासङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, राष्ट्रिय दलित नेटवर्क, दलित महिला सङ्घ (फेडो) लगायतका संस्थाले आयोजना गरेको सामूहिक छलफलमा मुक्तहलिया पुनःस्थापना केन्द्रीय समितिका सदस्य राजुराम भुल र सरस्वती नेपालीको पनि सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.