चितवन, जेठ १०: भरतपुर महानगरपालिका– २९ मा पर्ने दासढुंगा नजिकै भारतीय मिनी ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक त्रिशुलीमा खस्दा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ एलएन ३८७० नम्बरको भारतीय ट्रक नदीको किनारमा खसेको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार ट्रक सडकबाट करिब २० मिटर तल खस्दा चालक भारत लखनउ घर भएका ३५ वर्षीय महमद हसन र सहचालक सहीर अली घाइते भएको जनाए ।
घाइते मध्ये चालक हसनको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको रग्मीले बताए । घाइते दुवैको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उक्त ट्रक मिनी आँप बोकेर काण्ठमाडौंका लागि हिँडेको अनियन्त्रीत भइ शुक्रबार बिहान त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।