दाङ, साउन १८ः जिल्ला प्रहरी कार्यालय दाङले एक ठगि र मिटर ब्याज लगानी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार विभिन्न व्यक्तिलाई ठगी गर्ने र मिटर ब्याजमा पैसा लगानी गर्ने भन्दै आइतवार प्रहरीले बाबु पुनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पुन घोराही निवासी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार पुनलाई ठगि र मिटर ब्याजको आरोपमा घोराही बजारवाट पक्राउ गरिएको हो ।
पुनविरुद्ध पीडितले उजुरी दिएको आधारमा पक्राउ गरिएको उपरीक्षक चन्दले बताए । पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको पनि बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुमीत खड्काका अनुसार पक्राउ परेका पुन कानुन विपरीतका कामहरुमा सक्रिय रहेको र लामो समय प्रहरीले निगरानी राखिरहेको बेला उनको ‘ब्याकग्राउण्ड’ राम्रो नरहेको र विभिन्न गुन्डागर्दी अपराधजन्य घटनाहरुमा संलग्न रहेको पाइएकोले पक्राउ गरिएको बताएका छन् ।
गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टिएर पुनले आफै ग्याङ बनाएर धम्क्याउने गर्दै आएको बुझिएको छ । यसअघि पनि पुन पक्राउ परेर छुटेका थिए ।