माहुरी चराउन तराईतिर

रिपोर्ट नेपाल | 2022 Dec 21 | 07:38 am 1629

बैतडी, पुस ६ः बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका हुन् ।

दशरथचन्द नगरपालिका–५, पोटा, बैतडीका सुदर्शन लेखक १२५ घार माहुरी लिएर कैलालीको फूलबारी पुगेका छन् । तराईमा तोरी फुलेकाले सेरेना जातको माहुरी चराउन उहाँ पहिलो पटक बैतडीबाट तराई झरेका हुन् ।

माहुरीपालन व्यवसायबाट वार्षिक १० लाख रुपियाँ आम्दानी गर्दै आएका लेखकले यस वर्ष पहाडमा अधिक बर्सात हुँदा माहुरीका लागि चरन क्षेत्र अभाव भएको बताए । “अघिल्ला वर्ष १५ क्विन्टलसम्म मह उत्पादन हुन्थ्यो,” उनले भने, “यस वर्ष असोजमा भारी बर्सात हुँदा माहुरीको चरन क्षेत्र अभाव भयो । मह उत्पादन पनि जम्मा चार क्विन्टल मात्रै भयो ।” पहाडमा माहुरीको चरन क्षेत्र अभाव हुँदा बैतडीका माहुरी पालक किसान समस्यामा परेको उनले बताए । स्थानीय तह र कृषि ज्ञान केन्द्रले सहयोग नगरेपछि आफैँले ६० हजार रुपियाँ खर्च गरेर घार लिएर तराई झर्नुपरेको उनले बाध्यता सुनाए ।

कृषि ज्ञान केन्द्रले दुई सय माहुरीका घार किन्ने भनेपछि बैङ्कबाट १० लाख रुपियाँ ऋण निकालेर माहुरीको घार निर्माण र माहुरी उत्पादन गरे पनि अन्तिम अवस्थामा माहुरी नलगेपछि समस्यामा परेको उनले बताए । नागार्जुन माहुरीपालन उद्योग सञ्चालन गरेर मह उत्पादनमा लागेका लेखकले तराई झरेको एक महिनामै मह काढ्न थालेको बताए । पहाडको जस्तो महको स्वाद नभए पनि प्रतिकिलो एक हजार तीन सय रुपियाँमा मह बिक्री भइरहेको उनले जानकारी दिए ।

माहुरीपालन गरेर लेखकले दुई जनालाई रोजगारीसमेत दिएका छन् । माहुरीको रेखदेख गर्न, छुट्टिएर भाग्ने, घार चोरी हुन सक्ने तथा अरिङ्गालले खाने समस्या हुने भएकाले माहुरीको रेखदेखका लागि दुई जनालार्ई मासिक तलब दिने गरी रोजगारी दिएको उनले बताए।

लेखक मात्र होइन माहुरीपालन व्यवसायमा बैतडीका अन्य किसान पनि लागेका छन् । केही वर्षअघि घरको भित्ता र मुढेघारमा एक–दुई घार मौरी पाल्ने बैतडीका किसान पछिल्लो समय व्यावसायिक माहुरी पालनमा आकर्षित हुन थालेका छन् । यस वर्ष बैतडीमा चरन क्षेत्र अभावका कारण माहुरीमा भोकमरी हुँदा मह उत्पादन घट्दा किसान निराश भएको बैतडीका अगुवा माहुरी पालक किसान वासुदेव भट्टले बताए । “चरन क्षेत्र आभाव हुँदा केही किसान माहुरी चराउन तराई झरे पनि सबै किसानले आफ्नो खर्चमा माहुरी चराउन लैजान सक्ने अवस्था छैन,” उनले भने, “यस्तो बेलामा स्थानीय सरकार र कृषि ज्ञानकेन्द्रले यातायात खर्च बेहोर्न चासो नदिँदा किसान समस्यामा छन् ।”

माहुरी चरेको ठाउँमा कृषि उत्पादन पनि बढ्छ । माहुरीले फूलको पराग र रस चुस्दा एकअर्को बोटमा राम्रो परागशेचन भएर कृषि उत्पादनसमेत बढ्ने भएकाले स्थानीय सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने किसानको सुझाव छ । गाेरखापत्र अनलाइन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.