मार्बलले किचेर गम्भीर घाइते कामदारको हेलिकोप्टर मार्फत उद्धार

रिपोर्ट नेपाल | 2020 Jul 07 | 01:49 pm 1811

खोटाङ, असार २३ः गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको मार्बल झार्ने क्रममा सोही मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्कीलाई सोमबार साँझ हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

ना५ख ९५६९ नंको एलपी ट्रकमा तराईबाट ल्याइएको मार्बल दिक्तेल बजारस्थित कुमारी चलचित्र भवन नजिकै झार्ने क्रममा सोही मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ । सोही घटनाका अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घाइतेमध्ये आचार्यको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएका दुवै जनाको उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको प्रनाउ चिमोरियाले जानकारी दिए ।

घाइते दुवैलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरेर उपचार शुरु गरिएको गम्भीर घाइते आचार्यका आफन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका कार्यालय सदस्य कुमार आचार्यले बताए ।

घाइतेलाई काठमाडौंबाट एक लाख ८० हजारमा एयर डाइनास्टिक हेलिकोप्टर चार्टर्ड गरेर पठाइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.