मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालक कारबाहीमा

रिपोर्ट नेपाल | 2023 Mar 02 | 07:35 am 1185

काठमाडाैं, फागुन १८ः काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा
मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा  गरेको विशेष चेकिङका क्रममा विविध कसुरमा ८७ जना चालकहरू कारबाहीमा परेका हुन् ।

चेकिङकै क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख४६ २९ नम्बरका बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका
११ का २७ वर्षीय बुद्ध लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछी उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । त्यसै गरी अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् । नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन् ।

यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न , सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.