धरान, साउन १३ : एक नम्बर प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आधुनिक ब्रेथलाइजर, राडार गन र ह्विल लक प्रदान गरेको छ । आइतबार ट्राफिकलाई जम्मा ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँका उपकरणहरू प्रदेश नं.१ सरकारका आन्तरिक मामिला कानुन तथा मन्त्री हिक्मत कार्कीले वितरण गरे ।
एक नम्बर प्रदेश सरकारले ट्राफिक प्रहरीलाई २४ लाख ४३ हजार ४ सय रुपैयाँका २० वटा आधुनिक ब्रेथलाइजर, ४८ लाख १७ हजार १ सय ९० रुपैयाँ मूल्यका ७ वटा राडार गन र ४ लाख २९ हजार ४ सय मूल्यका १ सय थान ह्विल लक दिएकाे हाे ।
अब ट्राफिक प्रहरीलाई केहि राहत मिल्ने भएकाे छ । थलाइजरमा मादक पदार्थ सेवन (मापसे) मात्रासहित प्रिन्ट गर्ने सुविधा रहेको छ । मापसे गरेर सवारीसाधन चलाउनेलाई अब ट्राफिक प्रहरीले तुरुन्तै प्रमाण–पत्र प्रिन्ट गरेर दिने भएको छ ।
यसअघि ट्राफिकसँग ५१ वटा ब्रेथलाइजर भए पनि मापसे गरेको मात्रा स्क्रिनमा मात्र देखिने तर प्रिन्ट हुने व्यवस्था थिएन । प्रदेश ट्राफिक प्रहरीका प्रमुख एसपी भीमबहादुर दाहाल भन्छन्, ‘अब मापसे गर्नेलाई तुरुन्तै उसले खाएको मात्रासहित प्रमाणका लागि पत्र दिएर जरिवाना असुल गरिन्छ ।’
तीव्र गतिमा सवारी साधन कुदाउने सवारी साधनलाई कारबाही गर्न पनि सहज भएको एसपी दाहाल बताउनेछन् । उनले भने ,‘हाई–वेमा ओभर स्पिड कुदाउनेलाई अब हामी छाड्दैनौँ ।’ पहिला प्रदेश ट्राफिकसँग ४ वटा मात्र राडार गन थिए, ती पनि राम्रो गुणस्तरका थिएनन् । ह्विल लकले जथाभाबी पार्किङ गरिएका यातायातका साधन लक गरेर नियन्त्रणमा लिइन्छ ।
आवश्यक उपकरण अभावमा ट्राफिक प्रहरीलाई काम गर्न असहज भएका बेला मन्त्रालयको सहयोग पाएको एसपी दाहालले बताए । उनले भने, ‘प्रदेश सरकारको सहयोगले धेरै राहत हुने भयो । अब मापसे गरेर कुदाउने, ओभर स्पिड कुदाउने र जथाभाबी पार्किङ गर्नेलाई छुट हुँदैन । उनीहरू कारबाहीका भागी हुनेछन् ।’