काठमाडाैं, पुस २८ः बर्दिया राष्ट्रिय निकुञ्जमा २२ वर्षको अवधिमा ७६ जनाले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाए। २ सय १४ जना घाइते भए। सबैभन्दा बढी हात्तीको आक्रमणमा ४५ जनाको निधन भयो। त्यसपछि पाटेबाघको आक्रमणमा २२ जनाको मृत्यु भयो। गत वर्षमात्रै बर्र्दियामा बाघको आक्रमणमा १२ जनाले ज्यान गुमाए। गैंडाको आक्रमणबाट पाँचजना, चितुवा आक्रमणमा तीनजना र अन्य जनावरको आक्रमणमा एकजनाको ज्यान गएको छ। बर्दियामा मात्र बर्सेनि औसत तीनदेखि चारजनाले वन्यजन्तुको आक्रमणबाट अकालमै ज्यान गुमाउँछन्। त्यही अवस्था बाँकेमा पनि छ।
बाँकेमा गएको चार महिनामा पाटेबाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गत आर्थिक वर्ष मात्र वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्। जसमा बाघ र गैंडाको आक्रमणबाट पाँच–पाँच जनाको मृत्यु भएको छ। बर्दिया, बाँके र चितवन मात्र होइन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रको आसपासका बस्ती वन्यजन्तुको बढी मारमा छन्। ती क्षेत्रमा मासु, छाला र विभिन्न अंगका लागि लोपोन्मुख, संरक्षितलगायतका वन्यजन्तुको चोरी सिकार भइरहेको छ। हरेक साताजसो वन्यजन्तुको अंगसहित व्यक्तिहरू पक्राउ गर्दै प्रहरीले अभियुक्तहरू सार्वजनिक गरिरहेको हुन्छ। यो क्रम पनि घटेको छैन।
सामान्यतः कुनै पनि वन्यजन्तुले मानिसमाथि त्यत्तिकै आक्रमण गर्दैनन्। आफूमाथि खतराको संकेत देख्दा वा आफूमाथि जाइलागेको ठानेर आक्रमण गर्ने संरक्षणविद्हरू बताउँछन्। पर्यापर्यावरणका नाममा होस् वा पर्यटकीय गन्तव्यका नाममा वन्यजन्तुको वासस्थानमा मानिसको ओहोरदोहोर भइरहेको छ। मुक्त कमैया, सुकुम्बासी व्यवस्थापन होस् वा अतिक्रमणको चपेटामा वन क्षेत्र नै पर्छ। वन्यजन्तुको ओहोरदोहोर हुने क्षेत्रमा मानवबस्ती भएकाले पनि उनीहरू त्यही बाटो आउनेजाने गर्छन्। चितवनको सौराहा क्षेत्रमा गैंडाको ओहोरदोहोर सामान्य मानेजस्तै अन्य क्षेत्रमा पनि त्यही अवस्था हो। गाउँ बस्ती पसेको वन्यजन्तु धपाइन्छ। आगो बाल्ने, होहल्ला गर्ने वा चर्को आवाज निकालेर धपाउन प्रयोग गरिने स्थानीय विधिमा वन्यजन्तु अभ्यस्त जस्तो बनिसकेको देखिन्छ।
त्यसैले त निकुञ्ज वा वन क्षेत्रमा पर्ने राजमार्र्गमा जंगली हात्ती, बाघ, मृग, बाँदरहरू फोटो सेसनका लागि बसे झैं जति हर्न बजाउँदा पनि टसमस हुँदैनन्। मानव बस्ती वा बाली खान खाएका वन्यजन्तुलाई धपाउन पनि स्थानीयलाई हम्मेहम्मे परिरहेको छ। वन्यजन्तु र मानव प्रकृतिका अभिन्न अंग हुन्। वन्यजन्तु संरक्षण मानव जातिकै दायित्व हो। त्यसका लागि चोरी सिकार शून्य पार्नुपर्छ। सेना वा सुरक्षाकर्मीबाट मात्र वन्यजन्तुको सुरक्षा सम्भव छैन। संरक्षणमा समुदायकै सहभागिता सुनिश्चित गर्र्नुपर्छ। चोरी सिकारविरुद्ध युवा परिचालन गर्नुपर्छ। वन्यजन्तुलाई वन क्षेत्रभित्रै बाँच्ने आधार छैन। हाम्रा संरक्षित क्षेत्र, निकुञ्ज र आरक्ष वा वन क्षेत्रमा वन्यजन्तुको संख्या वृद्धि भएको छ। त्यही अनुपातमा वन क्षेत्र बढेको छैन। झन् साँघुरो हुँदै गएका छन्। विस्तार गर्नुपर्छ।
जलवायु परिवर्तनका कारण वन क्षेत्रमा पानीका स्रोत सुकेका छन्। चरीचरन पर्याप्त छैनन्। तिनको व्यवस्था गर्नुपर्र्छ। बाघ, चितुवालगायतका मांसाहारी वन्यजन्तुका लागि निकुञ्ज क्षेत्रमा आहारजन्य प्रजाति वृद्धि हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ। वनमा आहार नपाउँदा वन्यजन्तु गाउँ पसेर सजिलो आहारमा पल्कन थालेका छन्। बाघ, चितुवा नरभक्षी बन्नु मानिसको जिउज्यानका लागि मात्र खतरा होइन, उनको प्राकृतिक गुण पनि हराउने खतरा उत्तिकै हुन्छ। प्राकृतिक वासस्थानमा प्राकृतिक गुणमै वन्यजन्तु रहने व्यवस्था गर्नुपर्छ। यो पनि अहिलेको चुनौतीको विषय होे। सरकारले नीति, कार्यक्रम, कार्ययोजना बनाएर काम गर्न सकेमा वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण गर्न मद्दत मिल्नेछ। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट